एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसले स्वास्थ्य समस्या देखिएपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी छन्। ९२ वर्षीया भोसले हाल आपत्कालीन चिकित्सा सेवा एकाइमा उपचाररत रहेको जनाइएको छ ।
उनको अस्पताल भर्नाको खबर सार्वजनिक भएसँगै स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला परिवारले आधिकारिक जानकारी दिएको छ।
नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अत्यधिक थकान र छातीको संक्रमणका कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको स्पष्ट पारेकी छन्।
उनले लेखेकी छन्, 'हजुरआमा आशा भोसलेलाई थकान र छातीको संक्रमणका कारण अस्पताल भर्ना गरिएको छ। उहाँ उपचाररत हुनुहुन्छ र हामी छिट्टै थप जानकारी दिनेछौँ। कृपया हाम्रो गोपनीयताको सम्मान गरिदिनुहोस्।'
भारतीय संगीत जगतकी दिग्गज स्वरसम्राज्ञी भोसले ६ दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै हजारौँ गीतमा स्वर दिएकी कलाकार हुन्।
हिन्दी मात्र होइन, मराठी, बंगाली, गुजराती, तमिल, तेलुगु लगायत विभिन्न भाषामा उनले आफ्नो स्वरको जादू फैलाएकी छन् । नेपाली गीतहरूमा समेत उनको योगदान उल्लेखनीय मानिन्छ।