काठमाडौं । काठमाडौंमा गुण्डागर्दी नियन्त्रणका लागि चलाइएको विशेष अप्रेसनमा पक्राउ परेकामध्ये १६ जना धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको अप्रेसनअन्तर्गत पक्राउ परेकामध्ये ती व्यक्तिहरूलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको थियो ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुमतिमा उनीहरूलाई थुनामा राखिएको भए पनि सोही कार्यालयको आदेशमा धरौटीमा रिहा गरिएको हो ।
प्रहरीले दुई दिनभित्रै ३३ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये युवा संघका सचिवालय सदस्य वकिल बमसहित १६ जना धरौटी बुझाएर छुटेका हुन् ।
प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार वकिल बम १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । यस्तै, संजीव लामा ५० हजार र अशोक गिरी ६० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
यस्तै अणबहादुर तामाङ, मिनबहादुर तामाङ, आशिष क्षेत्री, सानुबहादुर तामाङ, लक्षमण साउद, रवि थिङ, ज्ञानबहादुर तामाङ, अकलबहादुर मोक्तान, साङ्गे लामा र अकलबहादुर थोकर १०/१० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
यसअघि १३ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २० गते राति पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरमा पठाएको थियो।
प्रहरीले बाँकी १७ जनालाई भने अझै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।