धनगढी । अत्तरिया जेसिजले युवाको नेतृत्व विकाससँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले गोदावरी आर्यघाट क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ ।
वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनलाई प्राथमिकता दिँदै आयोजना गरिएको उक्त कार्यक्रममा जेसिजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । सरसफाइमार्फत आर्यघाट क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापन गर्दै “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।
अत्तरिया जेसिजका स्वास्थ्य संयोजक ज्ञानेन्द्र खड्काले जेसिजले युवामा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वबारे चेतना फैलाउने महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
उनका अनुसार जेसिज युवालाई कार्यक्रममै सीमित नराखी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी माध्यमका रूपमा स्थापित भइरहेको छ।
उनले आगामी दिनमा पनि वातावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
पछिल्लो समय अत्तरिया जेसिजले समाजमा सकारात्मक प्रभाव पार्ने विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।