Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले निवर्तमान कावा सभापति खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने

कांग्रेसले निवर्तमान कावा सभापति खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज सोमबार दिउँसो बस्ने बैठकले स्पष्टीकरण फिर्ता लिने भएको हो । 

यसअघि केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको अनुशासन समितिले वैशाख २ गते नभएको पद उल्लेख गरेर विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई कारबाही स्वरुप ७ दिने स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

आइतबार संयोजक गुरुङले तोकिएको समयमा स्पष्टीकरण नबुझाए विधान अनुरूप कारबाही प्रक्रिया अगाडि बढाउने बताएका थिए ।

तत्कालीन महामन्त्री गगन थापा समुहले गत पुस अन्तिम साता विशेष महाधिवेशन आयोजना गरेको थियो । 

विशेष महाधिवेशनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । 

तर खड्का भने आफूलाई कार्यवाहक सभापतिकै हैसियतमा राखेर विज्ञप्ति जारी गर्दै आएका थिए।

केहिदिन अघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणसँग सम्बन्धित विषयमा खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेका थिए ।

त्यसपछि चैत १८ गते बसेको अनुशासन समितिले उनलाई सचेत गराउने निर्णय गरेको थियो । समिति बैठकले लेटरहेडको दुरुपयोग दोहोरिएमा पार्टी विधान २०१७ (संशोधनसहित) र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

यसैगरी खड्काले सोमबार पनि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।

त्यसपछि समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा खड्कामाथि कारबाही स्वरुप स्पष्टीकरण सोधिएको हो ।

तर खड्काले अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हास्यास्पद रहेको प्रतिक्रिया दिँदै जवाफ नदिने बताएका थिए ।

तर सर्वोच्च अदालतले पार्टी सभापति गगनकुमार थापाको कार्यसमितिलाई नै आधिकारिक भनिसकेको छ । त्यसैले सर्वोच्चले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको हो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077