'पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु'
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका कारण पार्टी चुनावमा कमजोर बनेर ३८ सिटमा खुम्चिनुपरेको टिप्पणी गरेका छन् ।
शनिबार कर्णाली प्रदेशले आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
खड्काले विशेष महाधिवेशनका कारण पार्टीको चुनावी परिणाममा प्रत्यक्ष असर परेको दाबी गर्दै भने- 'विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुग्यो। त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।'
उनका अनुसार आन्तरिक निर्णय प्रक्रियाका कारण पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको निष्कर्ष निकालिएको छ ।
उनले तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए।
उनले थप भने-'पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु, खड्काले केही दिनअघिको भेटमा सभापति र उपसभापतिलाई भएको कुरा सुनाए, तर, पार्टी मिलाउने कि फुटाउने तपाईहरूको जिम्मामा छ भनेको छु।'