Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

खान योग्य छैनन् काठमाडौंका चामल, सरकार किन बेखबर ?

खान योग्य छैनन् काठमाडौंका चामल, सरकार किन बेखबर ?

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा खपत हुँदै आएका चामलमा विभिन्न ११ थरी विषादीका अवशेष रहेको एक अध्ययनले देखाएको छ । अनुसन्धानका क्रममा चामलमा ढुसीनाशक, किटनाशक, मुसा मार्नेलगायत प्रतिबन्धित विषादीको समेत अवशेष फेला परेको हो ।

भक्तपुर र ललितपुरमा बिक्री–वितरण हुने चामलभन्दा काठमाडौंका पसलका चामलमा बढी विषादी पाइएको तथा गैरबासमतीको तुलनामा बासमती चामलमा विषादीको मात्रा दोब्बर देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

काठमाडौंस्थित ‘प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल’ र भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ ले सार्वजनिक गरेको ‘नेपालको धानमा विषादीको प्रयोग र किसानको सुरक्षा व्यवहार : योजनाबद्ध व्यवहारको सिद्धान्त र सम्भावित स्वास्थ्य जोखिम’ शीर्षकको प्रतिवेदनमा चामलमा पनि विषादी भेटिएको उल्लेख छ । 

उक्त प्रतिवेदनले काठमाडौंका तीन जिल्लामा खपत भइरहेको चामलमा विषादीको घनत्व प्रतिकेजी ५.०९ माइक्रो ग्रामदेखि ३१२.५४ माइक्रो ग्रामसम्म पाइएको औंल्याएको हो । यो प्रतिवेदन ‘स्प्रिन्जर नेचर’को प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक जर्नल ‘वातावरण, विकास र दिगोपन’ मा प्रकाशित छ ।

अध्ययनका लागि संकलित नमुनामध्ये ८३ प्रतिशत चामल विषादीयुक्त रहेको प्रतिवदेनमा भनिएको छ । त्यसमा ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादीका अवशेष भेटिएको उल्लेख गरिएको छ ।

अनुसन्धानकर्तामध्ये एक उत्कल सापकोटाले भनेका छनन्–‘चामलमा भेटिएका ११ थरी विषादीमध्ये ट्राइसाइक्लाजोल, थाइमिथक्जाम र टेबुकोनाजोलको मात्रा युरोपेली युनियनले तोकेको अधिकतम अवशेष सीमाभन्दा निकै बढी छ । यी विषादी मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् ।’

अध्ययनले गैरबासमती चामलको तुलनामा बासमती चामलमा दोब्बर बढी विषादी रहेको देखाएको छ । बासमती चामल महँगोमा बिक्ने र यसमा किराहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले किसानले बढी मात्रामा विषादी प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ । 

अध्ययनले चामलमा भेटिएका विषादीको दीर्घकालीन प्रयोग मानव स्वास्थ्यका लागि घातक हुन सक्ने चेतावनी पनि दिएको छ ।

सरकारले प्रतिबन्ध लगाएको क्लोरपाइरिफस, अल्फा–साइपरमेथ्रिन र प्रोफेनोफसजस्ता विषादी चामलमा भेटिएको अध्ययनले देखाएको छ । 

उक्त अध्ययन प्रतिवेदन नेपालका दुई, भारतका दुई र एक जापानी वैज्ञानिकले तयार पारेका हुन् । यसमा डा. गोविन्द भण्डारी, उत्कल सापकोटा, डा. शीलेन्द्र प्रताप सिंघ, डा।. अनुष्का पाण्डे र डा. हिरोतात्सु मुरानो संलग्न छन् ।

बजार अनुगमनमा कमजोरी हुँदा यस्ता विषादीको प्रयोग नरोकिएको अध्ययनको निष्कर्ष छ । नियमनकारी निकायको कमजोरीका कारण प्रतिबन्धित रसायन अझै पनि किसान र थोक विक्रेताहरूसम्म पुगिरहेको अध्ययनले औंल्याएको हो ।

उक्त प्रतिवेदनका बारेमा हालसम्म कृषि तथा स्वास्थ्य मन्त्रालयबाट कुनै पनि प्रतिक्रिया आएको छैन । केही दिन अघि कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण  गर्न कालिमाटी पुगेकी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरी चामलमा भएको विषदीबारे मुख खोलेकी छैनन् । वाणिज्य विभाग र स्वास्थ्य मन्त्रालय पनि अहिलेसम्म मौन नै छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077