विराटनगर । इलाका प्रहरी कार्यालय, लेटाङले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा आपतकालीन प्रतिक्रिया कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रविधियुक्त ड्रोन उपकरणको औपचारिक शुभारम्भ गरेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ड्रोन प्रविधिको समुद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले आधुनिक प्रविधिको प्रयोगले दुर्गम क्षेत्रमा समेत प्रभावकारी निगरानी, अपराध नियन्त्रण तथा खोज तथा उद्धार कार्यलाई सुदृढ बनाउँदै शान्ति एवं सुरक्षा व्यवस्थामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
यसले प्रहरी कार्यलाई समेत थप चुस्त, प्रविधिमैत्री र परिणाममुखी बनाउँदै ‘अपराध जहाँ भए पनि निगरानीबाट उम्कन नसक्ने’ स्पष्ट सन्देश प्रवाह गर्ने बताए ।
इलाका प्रहरी कार्यालय, लेटाङका प्रमुख प्रहरी निरिक्षक (इन्सपेक्टर) सागर साहले लेटाङ क्षेत्रको भौगोलिक जटिलता र बढ्दो सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै ड्रोन प्रविधि आवश्यक भएको उल्लेख गरेका थिए ।
उनले यस प्रविधिले प्रहरी कार्यलाई छरितो, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो भने शान्ति तथा सुरक्षा, अपराध अनुसन्धान, ट्राफिक निगरानी तथा आपतकालीन अवस्थामा शीघ्र प्रतिक्रिया सुनिश्चित गर्ने लगायतका दैनिक प्रहरी कार्यमा उल्लेखनीय सुधार आउने अपेक्षा गरे ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले प्रविधिमैत्री पहलहरूलाई सफल बनाउन सबै पक्षको सहयोग, समन्वय र सहभागिता अत्यन्त महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा प्रहरी अधिकारी, राजनैतिक दलका प्रतिनिधिज्यूहरु, उद्योग बाणिज्य संघका पदाधिकारीज्यूहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।