काठमाडौं । नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु भएको छ। युवा ब्याटर इशान पाण्डेले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा डेब्यु गर्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा शनिबार हुने त्रिकोणात्मक सिरिजको महत्त्वपूर्ण खेलमा इशान पहिलो पटक नेपालको ओडीआई टोलीमा मैदान उत्रिन लागेका हुन्। नेपाली टोलीका अनुभवी अलराउन्डर करण केसीले उनलाई डेब्यु क्याप हस्तान्तरण गरेका थिए।
घरेलु मैदानमा हजारौं समर्थकमाझ राष्ट्रिय टोलीबाट ओडीआई डेब्यु गर्ने अवसर पाएका इशान पछिल्लो समय नेपाली क्रिकेटका उदाउँदा प्रतिभामध्ये एक मानिन्छन्।
नेपाल ‘ए’ टोलीबाट लगातार उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन्।
इशानले यसअघि सन् २०१९ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। तर त्यसपछि सीमित अवसर मात्रै पाएका उनले हालसम्म चार टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
दायाँहाते शीर्षक्रमका ब्याटर इशान घरेलु क्रिकेटमा आक्रामक ब्याटिङ र संयमित इनिङका लागि परिचित छन्।