धनगढी । कैलालीको धनगढीमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीय प्रभाकर भट्टराई रहेका छन् ।
मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिक उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार नम्बर नखुलेको ट्याक्टरले सुपप्र०१०१४ प२६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई तत्काल ती प्रादेशिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले दुर्घटनापछि ट्याक्टर चालक र सहचालक फरार रहेको जानकारी दिए। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।