सर्वोच्चमा कुनै पनि गुटबन्दी छैन
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी गरेका छन् ।
संसदीय सुनुवाइका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफ दिंदै उनले भने–‘सर्बोच्चमा गुटबन्दी केही पनि छैन ।’
आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको खण्डन गर्दै उनले भने–‘बार र बेन्चको द्वन्द भएको छैन । बार र प्रशासनमा केही भएको होकी जस्तो देखिन्छ ।’
यता, सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानून व्यवसायीहरूले भने दिउँसै लालटिन बालेर विरोध गरेका छन् ।
कानून व्यवसायीहरूले नेपाल बार एसोसिएसन परिसरमा भेला भएर विरोध गरेका हुन् । न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै बारले विरोध गरेको जनाएको छ ।
यसैबीच सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।
सुनुवाइमा सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधान्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए । उनले प्रश्नहरूमाथि जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पुरक प्रश्नका लागि सदस्यहरूलाई समय दिएका थिए । पुरक प्रश्न नभएपछि सुनुवाइ सकिएको जानकारी गराएका थिए ।
शर्माले आफूमाथि लागेको नेपोबेबीको आरोपको खण्डन गरे । आफू योग्यता र क्षमताकै आधारमा अगाडि बढ्दै आएको उनको भनाइ छ । ‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन ।’प्रस्तावित प्रधानन्यायाधीश शर्माले जवाफ दिए ।