काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेल ले शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहणसँगै शर्मा औपचारिक रूपमा देशको नयाँ प्रधानन्यायाधीश बनेका छन्।
यसअघि संवैधानिक परिषद्को सिफारिसपछि सर्वोच्च अदालत का प्रस्तावित प्रधानन्यायाधीशका रूपमा उनी संसदीय सुनुवाइ प्रक्रियाबाट गुज्रिएका थिए।
मंगलबार बसेको सुनुवाइ समितिले उनीविरुद्ध परेका १६ उजुरीमाथि छलफल गर्दै उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो।
सुनुवाइका क्रममा शर्माले आफ्ना विरुद्ध परेका उजुरीबारे जवाफ दिएका थिए। प्रक्रिया पूरा भएसँगै मंगलबार नै शपथ ग्रहण सम्पन्न गरिएको हो।
नवनियुक्त प्रधानन्यायाधीश शर्माले बुधबारदेखि सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन तथा पेशी व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।