'अनुत्पादक क्षेत्रमा ऋण खर्च हुँदा भविष्यमा ऋण तिर्न समस्या हुन सक्छ'
काठमाडौं । पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अत्यन्त महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका राणाले बजेटबारे प्रतिक्रिया दिँदै बजेटमा ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको भन्दै टिप्पणी गरेका हुन् ।
अगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिव २५ प्रतिशतले वृद्धि गरी ल्याइएको उनको भनाई छ ।
उनले भने- 'बजेट निकै महत्वाकांक्षी देखियो । सुन्नमा एकदमै राम्रो छ । तर, ऋणको दायरा अत्यन्त बढेको छ । ऋण लिएपछि त्यो पूर्वाधार विकासमा खर्च हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अनुत्पादक क्षेत्रमा ऋण खर्च हुँदा भविष्यमा ऋण तिर्न समस्या हुन सक्छ ।'
सरकारले ठूलो परिमाणमा आन्तरिक तथा वैदेशिक ऋण उठाउने लक्ष्य राखेपनि त्यसअनुसार पूर्वाधार क्षेत्रमा पर्याप्त बजेट विनियोजन नगरिएको उनको टिप्पणी छ।
उनका अनुसार सरकारले आगामी आर्थिक वर्षमा ६ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ भने पूर्वाधार विकासमा ४ खर्ब ३१ अर्ब रुपैयाँ मात्रै विनियोजन गरिएको छ
पूर्वअर्थराज्यमन्त्री राणाले ऋण उत्पादक क्षेत्रमा खर्च नभए भविष्यमा ऋण तिर्न थप समस्या सिर्जना हुने चेतावनी दिए।