काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा भएको अनियमितताको छानबिनका क्रममा थप दुईजनालाई पक्राउ गरेको छ।
सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील केसीलाई पक्राउ गरेको अख्तियारले आज विभागका लेखा अधिकृत तुलसीप्रसाद अर्याल र जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसका नेपालका एजेन्ट मनेन्द्र मल्ललाई पक्राउ गरेको हो।
आयोगले उनीहरूलाई तीन दिन थुनामा राख्नसमेत विशेष अदालतले म्याद लिइसकेको छ ।
महानिर्देशक अर्याल र निर्देशक केसीमाथि अनुसन्धान गरिरहेको आयोगले विभागका अन्य कर्मचारीलाई तारेखमा राखिएको छ।
अख्तियारले सार्वजनिक खरिद नियमावली मिचेर विभागले ६४ लाख पासपोर्ट छपाइको जिम्मा दुई जर्मन कम्पनीलाई दिएको विषयमा छानबिन गरिरहेको छ ।
अर्को जर्मन कम्पनी भेरिडासका एजेन्ट सिद्धार्थ थापालाई पक्राउ गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरेको छ। भेरिडासले ६ अर्ब ११ करोड तथा म्युहलबाउरले एक अर्ब ५५ करोडको ठेक्का पाएका थिए।
नेपाल टेलिकमका हरेक ठेक्कामा चलखेल गर्दै आएका विचौलिया मल्ल कल वाइपास गिरोहका नाइके समेत हुन् ।
प्रधानमन्त्री कार्यालयदेखि बालुवाटारसम्म मिलाउँछु भन्दै प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ टिमको बद्नाम गराउँदै आएका मल्लले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोललाई समेत गुमराहमा राखेका छन् ।
भीओआईपीमार्फत कलबाइपास गरेको प्रकरणमा सन् २०१० जनवरीमा पक्राउ परेका विचौलिया मल्लले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल विद्युत प्राधिकरणमा अवैध हस्तक्षेप गरेको समेत खुलेको थियो ।
आफू ‘प्रधानमन्त्रीको मान्छे मै हुँ’ भन्दै उनले प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई वाइपास गरी कर्मचारीको सरुवादेखि लिएर आयोजनाका पिपिएमा समेत हस्तक्षेप गरेको खुलेको थियो ।