काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति आएको १९ दिन बितिसक्दा पनि त्यसबारे कुनै आत्मालोचना वा स्पष्टीकरण नआएको भन्दै सरकारको आलोचना गरे।
उनले प्रधानमन्त्रीको भनाइले राष्ट्रको स्वाभिमानमा चोट पुगेको दाबी गर्दै संसदप्रति सरकार जवाफदेही हुनुपर्ने बताए।
‘प्रधानमन्त्रीज्यूले जे कुरा अभिव्यक्त गर्नुभयो, आज १९ दिन भयो। उहाँले संसदमा आएर मैले गल्ती गरेँ भन्नुभएको छैन। देशलाई हेप्नुभयो, तीन करोड नेपाली जनतालाई हेप्नुभयो। राष्ट्रविरुद्ध बोल्नुभयो। प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो। त्यसैले प्रधानमन्त्री संसदमा आएर यस विषयमा स्पष्ट पार्नुपर्छ,’ उनले भने।
पोखरेलले प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति संसदको अभिलेख (रेकर्ड) बाट हटाइनुपर्ने मागसमेत गरे।
त्यसैगरी, उनले कर छली गरेर नेपाल भित्र्याइएको भनिएको बीवाईडी विद्युतीय गाडी प्रकरणबारे निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरे।
उनले उक्त प्रकरणमा सत्यतथ्य सार्वजनिक गर्न र सरकारको जवाफदेहिता सुनिश्चित गर्न संसदीय छानबिन अपरिहार्य रहेको उल्लेख गर्दै निष्पक्ष अनुसन्धानमार्फत तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए।