सिरहा । सिरहा प्रहरीले गोली प्रहार गर्दै एक कुख्यात लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
आइतबार बेलुकी सिरहा नगरपालिका–२१ स्थित लगडीगोठ क्षेत्रबाट इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो, गोलबजार शाखाको संयुक्त प्रहरी टोलीले लागुऔषध कारोबारी समूहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ का २८ वर्षीय रञ्जितकुमार पासवान (छोटु) र सोही स्थानका एक नाबालक रहेका छन् ।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा प्रतिकार भएपछि अवस्था नियन्त्रणबाहिर जाँदा एक राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरिएको थियो।
उक्त गोली छोटुको बायाँ पिडुँलामा लागेको प्रहरीले जनाएको छ। प्रहरीमाथि पक्राउ गर्ने क्रममा ढुंगामुढा भएपछि महेशपुर पतारमा कार्यरत एक प्रहरी जवान हृदयनारायण ठाकुर घाइते भएका छन्। घाइते प्रहरीको उपचार भइरहेको छ।
पक्राउ परेका दुवै जनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए।
प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।
एसपी पाठकका अनुसार पक्राउ परेका छोटु लामो समयदेखि संगठित रूपमा लागुऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। जिल्लाका विभिन्न स्थानबाट पक्राउ परेका प्रयोगकर्ताहरूले पनि उनीसँगै लागुऔषध खरिद गर्ने गरेको बयान दिएका छन्।
उनले हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले यो समूहले नाबालकहरूलाई समेत कारोबारमा प्रयोग गर्दै आएको आशंका गर्दै विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ।