काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएसँगै मुख्यमन्त्रीमाथि ट्राफिक नियम पालना नगरेको आरोप लागेको हो ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक खाताबाट ‘माननीय मुख्यमन्त्रीज्यू’ शीर्षकसहित सार्वजनिक गरेको भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरभित्र हेलमेटबिना बुलेट मोटरसाइकल चलाइरहेको देखिन्छ।
भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन् । दिनभर बैसाखीको सहारामा हिँड्ने मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्यलाई लिएर धेरैले टिप्पणी गरेका छन् भने कतिपयले सार्वजनिक पदमा रहेका व्यक्तिले कानुन पालना गर्न अझ बढी जिम्मेवार हुनुपर्ने बताएका छन्।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कानुनी व्यवस्था अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने बताएको छ । यता, भिडियो पोस्ट गरेका प्रमुख स्वकीय सचिव प्रयागराज खनालका अनुसार घटना मंगलबार रातिको हो ।
मुख्यमन्त्री कार्यालयबाट सरकारी निवास पुगेपछि एक व्यक्तिले बुलेट मोटरसाइकल ल्याएका थिए। निवासको कम्पाउन्डभित्र मोटरसाइकल चलाउन सकिन्छ वा सकिँदैन भन्ने उद्देश्यले मुख्यमन्त्रीले छोटो समयका लागि मोटरसाइकल चलाएर परीक्षण गरेका थिए।
यद्यपि, सार्वजनिक पदमा रहेका व्यक्तिले सरकारी निवासभित्र भए पनि हेलमेटबिना मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि आलोचना हुन थालेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र त्यसपछि १,५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको छ।