काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले छिमेकी राष्ट्र चीनको विकास नेपालका लागि अवसर भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै यस्तो भनेका हुन् ।
उनले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले विगत एक शताब्दीमा चीनलाई संकटबाट समृद्धितर्फ डोर्याएको अनुभव विश्वकै लागि प्रेरणादायी रहेको बताए ।
आचार्यले भने- 'हाम्रा विचारधारा फरक हुन सक्छन्, तर जनताको सेवा नै राजनीतिक दलको मूल उद्देश्य हो। यही साझा मान्यताले देशको समृद्धिको आधार तयार गर्छ। छिमेकी देश समृद्ध हुँदा त्यसको प्रत्यक्ष र परोक्ष लाभ नेपाललाई पनि पुग्छ ।'
आचार्यले नेपाल चीन सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नभई कलाकार अरनिकोको समयदेखि नै सांस्कृतिक, ऐतिहासिक र भावनात्मक रूपमा गहिरो रहेको उल्लेख गरे ।
दुई देशबीचको सम्बन्ध पारिवारिक र प्रगाढ रहेको भन्दै उनले आगामी दिनमा रास्वपा र सीपीसीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
उनले सक्षम, दूरदर्शी र समर्पित राजनीतिक दलले देशलाई प्रतिकूल अवस्थाबाट समृद्धितर्फ लैजान सक्ने उदाहरण चीनले प्रस्तुत गरेको उल्लेख गर्दै नयाँ राजनीतिक दलका रूपमा रास्वपाले सीपीसीको विकास यात्राबाट धेरै कुरा सिक्न सक्ने बताए ।