दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाडी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोतखोर टोली खटिएको छ।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली शनिबार घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार टोलीले पानीमुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी यही असार १८ गते सडकबाट अन्दाजी छ–सात सय मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनालगत्तै सशस्त्र प्रहरी गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा वेस तथा सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट छ जना गोताखोरसहितको टोली उद्धारमा खटिएको थियो।
सोही दिन दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखले प्रेस विज्ञप्तिमार्फत अन्य यात्रुहरूको परिचय सार्वजनिक गरेको छ ।
जसअनुसार गाडीमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझिगाउँका चालक तुलाराम सुबेदी, सोही ठाउँका सहचालक रामप्रसाद सुबेदी, कालिकोट रास्कोट नगरपालिका –२ खड्कागाँउका सिर्जना खड्का र कालिकोट पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा र जेखे तिरुवा छन् ।
साथै गाडीमा थप यात्रु सवार थिए वा थिएनन् भनेर सम्बन्धित निकायहरुसँग समन्वय गरी आवश्यक अनुसन्धान तथा विवरण संकलन कार्य जारी रहेको जनाइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीयवासी तथा विभिन्न जिल्लाबाट परिचालित उद्धार टोलीले नदी किनार र सम्भावित स्थानहरूमा खोजी गरिरहेको छ ।