Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

‘बालेनको पुलिस होइन’ भनेकै कारण जिल्ला तानिएका हुन् डीएसपी चौधरी ?

‘बालेनको पुलिस होइन’ भनेकै कारण जिल्ला तानिएका हुन् डीएसपी चौधरी ?

बिहिवार , आषाढ २५, २०८३

कैलाली । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी पछिल्ला दिनमा सामाजिक सञ्जाल र सार्वजनिक बहसका केन्द्रमा छन् ।

‘हामी बालेनको पुलिस पनि होइनौँ’ भन्ने उनको अभिव्यक्ति भाइरल भएपछि उनी जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएका छन् ।

तर प्रहरी स्रोतका अनुसार उनी केवल उक्त भिडियोका कारण मात्रै जिल्ला बोलाइएका भने होइनन् । प्रहरी स्रोतका अनुसार डीएसपी चौधरीमाथि सार्वजनिक अभिव्यक्ति, कार्यशैली तथा विगतदेखि प्राप्त विभिन्न गुनासा र उजुरीका विषयमा एकसाथ सोधपुछका लागि जिल्ला बोलाइएको हो ।

उनलाई काउन्सिलिङ तथा आवश्यक स्पष्टीकरणका लागि जिल्ला बोलाएको प्रहरी स्रोत बताउँछ । 

घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले, ‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो,’ भन्ने अभिव्यक्ति दिएका थिए ।

डीएसपी चौधरीले कार्यक्रममा बोलिएको भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको आवाज पनि भिडियोमा सुनिन्छ। उक्त भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक भयो।

उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको भनाइलाई लिएर व्यापक बहस र आलोचना भभइरहेको छ । कसैले सो अभिव्यक्तिको बचाउ गरेका थिए भने कसैले बिरोध गरेका छन् । 

सोही कार्यक्रममा उनले प्रहरी संगठन कुनै राजनीतिक दल वा नेताको प्रभावमा नचल्ने भन्दै जनप्रतिनिधिसम्बन्धी टिप्पणीसमेत गरेका थिए । सो अभिव्यक्ति बारे पनि सोधपुछ हुने बताइएको छ ।

यस्तै, बजारमा आफैँ पुगेर सामान जफत गरेको र पछि फिर्ता गरेको आरोपसमेत उनीमाथि लागेको छ । पसलबाट सामान लगेको र फिर्ता गरेको पनि भिडियोहरु भाइरल छन् ।

साथै त्यसभन्दा अगाडि सेवाग्राहीसँग कुराकानी गर्ने बेला आफूले लगाएको सर्टका टाँक खालेर बसेको पनि भिडियो सार्वजनिक भएको थियो । सो विषयबारे अस्ति मात्रै जिल्लाको टोली उनको कार्यालयमा पुगेर जानकारी लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द ले डीएसपी चौधरीसँग पछिल्लो भाइरल भिडियो मात्रै नभई अघिल्ला गतिविधि र सार्वजनिक अभिव्यक्तिबारे पनि सोधपुछ गरिने बताए । डीएसपी चौधरी विभिन्न अभिव्यक्ति र हर्कतका कारण कैलालीमा चर्चामा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077