कैलाली । जेनजी आन्दोलनको क्रममा चोरी गरिएको सरकारी स्कारपियो करिब १० महिनापछि प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनको कार्यालयको बा.२ झ २८५९ नम्बरको सरकारी स्कारपियो २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका–५ बाट ४/५ जनाको समूहले चोरी गरी लगेको थियो ।
प्रहरीले यही असार ८ गते घोडाघोडी नगरपालिका–२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योग भित्र गाडीको स्वरूप परिवर्तन गरिएको अवस्थामा बरामद गरेको हो ।
घटनामा संलग्न रहेको आरोपमा उद्योग सञ्चालक ३१ वर्षीय कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनीमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।