Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

बाल संगठनबाट २० बालबालिकाको उद्धार

बाल संगठनबाट २० बालबालिकाको उद्धार

शनिवार , श्रावण २, २०८३

काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका २० बालबालिकाको उद्धार गरेको छ।

नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित बालबालिकाको दयनीय बसोबास र असुरक्षित वातावरणबारे प्राप्त उजुरी तथा भिडियो सामग्रीपछि मन्त्रालयले स्थलगत अनुगमन गरी पहिलो चरणमा २० जना बालबालिकाको उद्धार गरेको हो । 

मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले गरेको अनुगमनमा बालगृहको अवस्था अत्यन्तै चिन्ताजनक भेटिएको थियो।

भवनभित्र पानी जमेको, शौचालय र बाथरुम अस्वच्छ तथा चिप्लो रहेको, सरसफाइको अवस्था निकै कमजोर भएको र विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको पाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यस्तो अवस्था बालबालिकाको स्वास्थ्य, सुरक्षा र समग्र विकासका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको छ।

मन्त्रालयका अनुसार नेपाल बाल संगठनलाई भौतिक पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन र बालबालिकाको बसोबास व्यवस्थित बनाउन यसअघि पटक–पटक निर्देशन दिइएको थियो।

सम्बन्धित पक्षसँग छलफलसमेत गरिए पनि अपेक्षित सुधार नभएपछि स्थलगत अनुगमन गरी तत्काल उद्धार प्रक्रिया अघि बढाइएको हो।

यही आधारमा मन्त्रालयले बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा २ वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ । उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्।

मन्त्रालयले उनीहरूको स्वास्थ्य परीक्षण, संरक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077