काठमाडौं । आज शनिबार र भोलि आइतबार मनसुन प्रणाली थप सक्रिय भई देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शनिबार जारी गरेको सूचनाअनुसार लगातारको वर्षासँगै अकस्मात् बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव, नदी कटान तथा सहरी र तराई क्षेत्रमा डुबानको उच्च जोखिम रहेकाले नागरिकदेखि सम्बन्धित सबै निकायलाई पूर्वतयारीमा जुट्न अनुरोध गरिएको छ।
प्राधिकरणले अत्यावश्यक कामबाहेक घरदेखि टाढा तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। साथै पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा लगायत उच्च जोखिममा रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्न तथा आवश्यक परे जुनसुकै बेला यातायात बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, जिल्ला सुरक्षा समिति तथा स्वयंसेवकहरूलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ।
जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा जोखिममा रहेका बस्तीका नागरिकलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि आग्रह गरिएको छ।
विशेषगरी खोला, खहरे, नदी किनार तथा पहिरोको जोखिम भएका बस्तीका बासिन्दालाई अत्यधिक सतर्क रहन अनुरोध गर्दै प्राधिकरणले विपद्को अवस्थामा आवश्यक सहयोगका लागि हटलाइन नम्बरहरू मोबाइलमा सुरक्षित राख्न आग्रह गरेको छ।