एजेन्सी । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा गएको भीषण पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना अझै बेपत्ता रहेका छन्।
चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार शुक्रबार बिहान पेङशुई काउन्टीमा गएको पहिरोले ठूलो परिमाणमा ढुङ्गा र माटो बगाउँदा १० भन्दा बढी आवासीय भवन पुरिएका छन्।
पहिरोबाट १० जनाको सकुशल उद्धार गरी अस्पताल पठाइएको छ भने एक हजार १०० भन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। घटनास्थलका तस्बिर तथा भिडियोमा गगनचुम्बी भवनभन्दा ठूलो चट्टान खसेर भग्नावशेष भिरालो क्षेत्रमा फैलिएको देखिन्छ।
क्षतिग्रस्त भवनमध्ये एकको माथिल्लो भाग पूर्ण रूपमा ध्वस्त भएको छ भने अर्को भवन नजिक एउटा सवारीसाधन आधा पुरिएको अवस्थामा भेटिएको छ।
पेङशुई काउन्टीका योजना तथा प्राकृतिक स्रोत प्रमुख वाङ चुआनजुनका अनुसार पहिरोसँगै करिब १८ हजार घनमिटर चट्टान र भग्नावशेष बगेको थियो। तीमध्ये सबैभन्दा ठूलो चट्टान करिब तीन हजार घनमिटरको रहेको उनले जानकारी दिए।
सीसीटीभीका अनुसार शुक्रबार रातिदेखि शनिबार बिहानसम्म घटनास्थलमा निरन्तर वर्षा भएको थियो। स्थानीय मौसम केन्द्रले १९।२ सेन्टिमिटर वर्षा मापन गरेको जनाएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भए पनि वर्षा कम भएपछि उद्धार टोलीले भग्नावशेष र नदी किनार क्षेत्रमा खोजी कार्य तीव्र बनाएका छन्।
उद्धारकर्मीहरूले अस्थिर चट्टान र थप पहिरोको जोखिमका बीच बेपत्ताहरूको खोजी जारी राखेका छन्। अधिकारीहरूले चट्टान वरपरको खोजी सकिएपछि ठूला ढुङ्गा हटाउन ड्रिलिङ र आवश्यक परे विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरेका छन्।
यसैबीच, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले विपद्पछिको पूर्वाधार तथा सार्वजनिक सेवा पुनःस्थापनाका लागि तीन करोड युआन ९करिब ४४ लाख अमेरिकी डलर० राहत रकम विनियोजन गरेको छ।
वर्षाका कारण आएको उक्त पहिरो वुजियाङ नदी क्षेत्रनजिक भएको हो। साना बस्ती र टेरेसयुक्त कास्र्ट पहाडका लागि परिचित पेङशुई काउन्टी चोङकिङको दक्षिणपूर्वी भागमा पर्छ। यो क्षेत्र हुबेई र गुइझोउ प्रान्तसँग सीमा जोडिएको छ।