Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

घुसकाण्डमा चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्ड

घुसकाण्डमा चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्ड

शुक्रवार , बैशाख २५, २०८३

एजेन्सी । चीनका पूर्व रक्षामन्त्री वेई फेङ्हे र ली शाङ्फुलाई घुससम्बन्धी गम्भीर आरोपमा मृत्युदण्ड सुनाइएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवैलाई ‘दुई वर्षको स्थगनसहित’ मृत्युदण्ड दिइएको हो । चीनमा यस्तो सजाय प्रायः पछि आजीवन कारावासमा रूपान्तरण हुने गर्दछ ।

यो फैसला राष्ट्रपति सी चिनफिङले सन् २०१२ देखि अघि बढाउँदै आएको भ्रष्टाचारविरुद्धको कठोर अभियानकै निरन्तरताका रूपमा हेरिएको छ। विशेषगरी चीनको सेना जनमुक्ति सेना (पीएलए) भित्र व्यापक शुद्धीकरण अभियान चलिरहेको छ।

सन् २०२३ मा सुरु भएको अभियान चीनको परमाणु तथा मिसाइल प्रणाली हेर्ने शक्तिशाली रकेट फोर्स सम्म पुगेको थियो। त्यसपछि सेनाका उच्च अधिकारीहरू एकपछि अर्को अनुसन्धानको घेरामा परेका छन्।

यसै वर्षको सुरुआतमै पीएलएका शीर्ष जनरल झाङ योउशिया लाई समेत पदबाट हटाइएको थियो। उनी लामो समयदेखि राष्ट्रपति सीका निकट सहयोगी मानिन्थे।

सिन्ह्वाका अनुसार पूर्व रक्षामन्त्री ली शाङ्फुमाथि ठूलो रकम घुस लिएको, अरूलाई पनि घुस दिएको तथा जनशक्ति व्यवस्थापनमा अनुचित प्रभाव प्रयोग गरेको आरोप पुष्टि भएको थियो। अनुसन्धानले उनले “राजनीतिक जिम्मेवारी पूरा नगरेको” निष्कर्ष निकालेको जनाएको छ।

यस्तै वेई फेङ्हेमाथि पनि ठूलो रकम र बहुमूल्य वस्तु घुसस्वरूप स्वीकार गरेको तथा नियुक्ति र जनशक्ति व्यवस्थापनमा अरूलाई अनुचित लाभ दिलाएको आरोप लागेको थियो। चिनियाँ अधिकारीहरूले उनका गतिविधिलाई “अत्यन्त गम्भीर” र “सेनाको छविमा गहिरो क्षति पुर्‍याउने” खालको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077