एजेन्सी। अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक मारिएका छन् भने ३० भन्दा बढी नागरिकको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्।
इरानी सेनाका अनुसार दक्षिणपूर्वी क्षेत्रमा रहेको ३८८औँ ब्रिगेडको सैनिक ब्यारेकमाथि अमेरिकाले १३ वटा मिसाइल प्रहार गरेको थियो। आक्रमणमा अतिथि गृह, सुरक्षा चौकी तथा सैनिक आवासलाई निशाना बनाइएको जनाएको छ।
सेनाले पूर्वतयारीस्वरूप अपनाइएका सुरक्षा व्यवस्थाका कारण क्षति सीमित भएको दाबी गर्दै उक्त आक्रमणलाई ‘कायरतापूर्ण’ भन्दै त्यसको जवाफ दिने चेतावनी दिएको छ।
यस्तै, इरान सरकारले दक्षिणी क्षेत्रमा भएका अमेरिकी आक्रमणमा ३० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ। सरकारी प्रवक्ता फरिमा मोहाजेरानीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै सरकारले प्रभावित नागरिकलाई साथ दिने बताएकी छन्।
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता होसैन केरमनपौरका अनुसार रातभरको अमेरिकी हवाई आक्रमणमा २६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। मृतकको यकिन संख्या भने सार्वजनिक गरिएको छैन।
अमेरिकाले गएराति लगातार चौथो दिन पनि इरानका विभिन्न सैन्य ठेगानाहरूमाथि भीषण हवाई आक्रमण गरेको थियो । करिब सात घण्टासम्म चलेको सैन्य अपरेसनका क्रममा हर्मुझ स्ट्रेटको आसपास रहेका इरानी मिसाइल तथा ड्रोन ठेगाना, नौसैनिक स्रोत र तटीय रक्षा प्रणाली (कोस्टल डिफेन्स सिस्टम)लाई निसाना बनाइएको थियो ।
त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले वार्तामा नआए अर्को सातादेखि इरानका विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई लक्षित गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका थिए ।
इरानी अधिकारीहरूले अमेरिका–इरानबीच पछिल्ला दिनमा बढेको सैन्य तनावका बीच यो आक्रमण हालसम्मकै सबैभन्दा धेरै मानवीय क्षति भएको घटनामध्ये एक भएको बताएका छन्।