काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ को आईसीसी टी–२० विश्वकप छनोटमा महत्त्वपूर्ण अवसर पाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ छनोट संरचनाअनुसार नेपालले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन। टी–२० विश्वकप २०२६ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
सन् २०२६ को टी–२० विश्वकपमा सहभागी भएका तर प्रतियोगितामार्फत स्वतः विश्वकपमा स्थान सुरक्षित गर्न नसकेका टोलीलाई सिधै ग्लोबल छनोटमा सहभागी गराउने व्यवस्था गरिएकाले नेपालले पनि यही सुविधा पाएको हो।
नेपालले २०२६ को टी–२० विश्वकपमा समूह चरण पार गर्न नसके पनि प्रतियोगितामा सहभागी राष्ट्र भएकै आधारमा ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको हो। यससँगै नेपालले क्षेत्रीय छनोटको चुनौती पार नगरी विश्वकप यात्रालाई ग्लोबल छनोटबाट अघि बढाउने भएको छ।
आईसीसीले सार्वजनिक गरेको संरचनाअनुसार ग्लोबल छनोटमा विभिन्न क्षेत्रीय छनोटबाट आठ टोली पुग्नेछन्। अफ्रिका, एसिया र युरोप क्षेत्रबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट भएर आउनेछन्। उनीहरूले २०२६ विश्वकपमा सहभागी भएका तर स्वतः छनोट हुन नसकेका टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
ग्लोबल छनोटबाट प्रत्येक क्षेत्रका उत्कृष्ट एक–एक टोलीसहित समग्र प्रदर्शनका आधारमा थप तीन टोलीले सन् २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन्। यसरी ग्लोबल छनोटबाट कुल सात टोली विश्वकपका लागि छनोट हुनेछन्।
आईसीसीले यसपटक छनोट प्रक्रियामा टोलीको न्यूनतम प्रदर्शनसम्बन्धी मापदण्ड पनि लागू गर्ने जनाएको छ, जसले प्रतिस्पर्धालाई थप कडा बनाउने अपेक्षा गरिएको छ।
यसअघि टी–२० विश्वकपमा पुग्न एसिया, अफ्रिका, युरोप, अमेरिका तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोटमार्फत टोली चयन हुने व्यवस्था थियो। तर आगामी संस्करणका लागि आईसीसीले पुनः ग्लोबल छनोट प्रणालीलाई समावेश गर्दै विश्वकप छनोटको ढाँचामा परिवर्तन गरेको हो।