काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।
प्रतिनिधिमण्डल चीनको न्याङ्ग्ची सहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन त्यसतर्फ गएको हो ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार साउन १ गतेसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख रुवी कुमारीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सिजाङको लिन्ची सहरमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका पनि तय भएको सचिवालयले जनाएको छ।
भेटमा नेपाल–चीन सम्बन्ध, सीमापार सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिनिधिमण्डलले विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाएपछि साउन ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।