काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलकी पत्नी तथा पूर्वसंविधानसभा सदस्य मिरा पोखरेल (ध्वोजु) क्यान्सरबाट पीडित भएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पोखरेलले मिराको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको बताएका हुन्।
'भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमती मिरा पोखरेल ९ ध्वोजु ० क्यान्सरको उपचारमा रहनुपरेको र म स्वयम् पनि त्यस कार्यमा प्रत्यक्ष जोडिनु परेका कारण यस विच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष जोडिन नसकेको सबैमा जानकारी गराउन चाहान्छु । मिराजीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट संपर्क गर्नुहुने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउनुहुने साथीहरू तथा आफन्तजनप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरूको सद्भावपूर्ण र सहयोगी भावनाले हामीले हौसला प्राप्त गरिरहेका छौं,' सामाजिक सञ्जालमा लेखेका छन् ।
राजनीतिमा सक्रिय रहेकी मिरा पोखरेल पूर्वसंविधानसभा सदस्यसमेत हुन्। यद्यपि, उनलाई क्यान्सरको कुन प्रकार भएको हो भन्ने विषयमा भने पोखरेलले खुलाएका छैनन्।
पत्नीको उपचारमा आफूलाई समय दिनुपर्ने भएकाले केही समय प्रत्यक्ष राजनीतिक गतिविधिमा सक्रिय हुन नसक्ने पोखरेलले बताएका छन्।
साथै, उपचार सफल होस् भन्दै स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्।