काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्दै पार्टीको संगठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई आह्वान गरेका छन्।
उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता अभियानसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम सञ्चालन गरिने बताए।
सदस्यता वितरण अभियानले पार्टीलाई जनताको घरदैलोसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
‘देशभर आगामी तीन महिनाभित्र तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यका साथ डिजिटल सदस्यता अभियान अघि बढाइनेछ।
गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिनेछ। यस अभियानले उज्यालो नेपाल पार्टीलाई व्यापक रूपमा जनतासम्म पुर्याउन सहयोग गर्नेछ,’ उनले भने।
उनले निर्धारित अवधिभित्र संगठन निर्माण र सदस्यता विस्तारमा सक्रिय रूपमा जुट्न सम्पूर्ण नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए।
कार्यक्रममा अध्यक्ष घिसिङले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने संकेत देखिएको दाबी गरे।
उनले सरकार र सबै राजनीतिक दलले जिम्मेवार र गम्भीर भूमिका निर्वाह गर्दै मुलुकलाई अस्थिरता र द्वन्द्वबाट जोगाउन साझा प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए।