काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।
समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी एकता गरेको जनाएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार दुवै पार्टीले जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वको मुद्दालाई साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउने भएका छन्। साथै भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।
कार्यक्रममा अध्यक्ष घिसिङले पनि हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उज्यालो नेपाल पार्टीमा स्वागत गर्दै दुई दलबीच एकता प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको जानकारी दिए ।
घिसिङले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न दलहरूसँग एकता प्रक्रिया अघि बढाइएको बताए ।
उनका अनुसार अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरू पनि पार्टीमा समाहित हुने क्रममा रहेको छ ।
यसअघि नै उनेपाले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ ।