धनगढी । कैलाली प्रहरीले अनलाइन सफ्टवेयर प्रयोग गरी अवैध मुद्रा कारोबार गरेको आशंकामा दुई भारतीय नागरिकसहित नौ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित एक घरमा फ्ल्याट भाडामा लिएर युवायुवतीलाई राखी अनलाइन सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो । सो क्रममा कारोबारमा संलग्न रहेको आशंकामा नौ जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा कैलालीका प्रेमबहादुर साउद, उदयपुरका दिपिन मगर, भारतको दिल्लीका टिंकुमार सूर्यवंशी, हरियाणाका दीपककुमार जाट, चितवनका जितेन्द्र कँडेल, ललितपुरका राजकुमार गौतम, काठमाडौंका रावण चुडाल, झापाका हरिप्रसाद चापागाईं तथा धनगढीका ज्ञानेन्द्र ढकाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार पक्राउ परेकामाथि अवैध मुद्रा कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
उनीहरूलाई जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।