काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। सोमबार भएको रोमाञ्चक प्रतिस्पर्धामा नेपाल नामिबियासँग मात्र ३ रनले पराजित भयो।
२१२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो। अन्तिमसम्म संघर्ष गरे पनि लक्ष्य भेट्टाउन नसक्दा नेपाल पुनः निराश बन्न पुग्यो।
नेपालका लागि आसिफ शेखले ४५ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ४१ रनको योगदान दिए। आरिफ शेख ३८ रनमा अविजित रहे भने कुशल भुर्तेलले ३४, गुल्शनकुमार झाले अविजित १९ र इशान पाण्डेले १४ रन जोडे। नामिबियाका ज्याक ब्रसेलले तीन तथा रुबेल ट्रम्पलम्यानले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो। जान फ्रेइलिंकले १४९ बलमा तीन चौकासहित उत्कृष्ट १०० रनको शतकीय इनिङ खेले। लोरेन स्टिनक्याम्पले ५९ रन बनाउँदै टोलीलाई बलियो आधार दिलाए।
नेपालका लागि करण केसी चम्किए। उनले १० ओभरमा दुई मेडन राख्दै मात्र २९ रन खर्चेर ५ विकेट लिए। यही प्रदर्शनसँगै करणले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्ने ऐतिहासिक उपलब्धि समेत हासिल गरे। सोमपाल कामीले एक विकेट लिए।
तर करणको उत्कृष्ट बलिङ र ऐतिहासिक उपलब्धि पनि नेपाललाई जित दिलाउन पर्याप्त हुन सकेन। लगातार तेस्रो हारसँगै नेपाल ३१ खेलबाट २४ अंक जोड्दै लिग–२ को छैटौँ स्थानमा झरेको छ। समान खेलबाट २६ अंक बनाएको नामिबिया भने पाँचौँ स्थानमा उक्लिएको छ।
नेपालले अब शृंखलाको अन्तिम खेल बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।