Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘युवराजलाई हटाउन षड्यन्त्र भयो, अहिले वामदेवलाई राष्ट्रिय सभामा पठाउन सक्दिनँ’

    ‘युवराजलाई हटाउन षड्यन्त्र भयो, अहिले वामदेवलाई राष्ट्रिय सभामा पठाउन सक्दिनँ’

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । आज फागुन १५ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नेपाल कम्युनिस्ट पार्टीमा राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट कसलाई मनोनित गर्ने विषयमा देखिएको विवादको समाचारले प्राथमिकता पाएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने कि नगर्ने भन्ने विषयले ध्रुवीकरण भएको नागरिक दैनिकमा समाचार छ। बुधबार बिहान बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्षसमेत रहेका नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय सार्वजनिक भएको थियो। पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी गराएलगत्तै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि सार्वजनिक भएको छ।



    प्रधानमन्त्री ओली गौतमको विपक्षमा देखिएपछि सत्तारुढ नेकपाभित्रको विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यका लागि भने हालका अर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गरिसकेका कारण तत्काल गौतमलाई सिफारिस गर्न नसकिने जनाएको सार्वजनिक भएपछि नेकपाका शीर्ष नेताहरु नै सशंकित भएका थिए। तर पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने ओलीकै अगाडि निर्णय भएकाले खतिवडाको बारेमा कुरा भएजस्तो आफूलाई नलागेको बताए।



    ओली असन्तुष्ट रहेको खबर प्रसारित भएको केही समयमा नेपाल बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीले फोन गरेर बोलाएपछि नेपाल बालुवाटार पुगेका थिए। ‘सचिवालयको निर्णय ढिला भयो, राष्ट्रियसभामा मनोनयनका लागि युवराज खतिवडाको नाम सिफारिस भइसकेको छ। निर्णय भइसकेको नाम परिवर्तन हुन्न। गौतमजीलाई अब पछि गरौंला’, सचिवालयको निर्णयबारे ओलीको प्रतिक्रियालाई एक सचिवालय सदस्यले उद्धृत गरे। ओलीले त्यही बेला वरिष्ठ नेता नेपाललाई थप छलफल गर्नुप-यो भन्दै बालुवाटार बोलाएका थिए। साँझ पाँच बजे बालुवाटार पुगेका नेपाल र ओलीबीच तीन घण्टा कुराकानी भएको थियो।

    वामदेवलाई सांसद बनाउने प्रस्ताव स्वीकृत, राष्ट्रपतिबाट मनोनीत सांसद नौजना पुर्‍याउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत भएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    बुधबार बिहान ११ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक सुरुवात गर्दै अध्यक्ष प्रचण्डले भने– वामदेव कमरेडले राष्ट्रिय सभामा जान संविधान संशोधनको सर्त राख्नुभएको थियो । त्यसैले कार्यदल बनेको हो । यो निर्णय गोप्य राखौँ भन्ने सहमति भएको हो । तर, हाम्रो निर्णयको विषयमा जनमानसबाट राम्रो प्रतिक्रिया आएन । पार्टीभित्र र बाहिर दुवैतिरबाट विरोधको स्वर आयो । हामी पनि द्विविधामा फस्यौँ । अब कार्यदल राखौँ कि भंग गरौँ ? वामदेव कमरेडलाई राष्ट्रिय सभामा पठाऊँ कि नपठाऔँ ? निणर्य गरौँ । सर्वसम्मत निर्णय गरौँ, नत्र बाहिर राम्रो सन्देश जान्न ।

    प्रचण्डको प्रस्तावपछि प्रधानमन्त्री ओली बोले– तपाईंहरू कहाँ–कहाँ सल्लाह गरेर आउनुभएको छ ? निर्णय पनि लिएरै त आउनुभएको होला । ल्याउनुस्, तपाईंहरूका निर्णय के–के छन् ? एक–एक गरेर हेरौँ ।

    तेस्रो नम्बरमा तेस्रो वरीयताकै नेता झलनाथ खनाल बोले । उनले भने– हामी सचिवालयका सबै सदस्य संघीय संसदमा छौँ । अब वामदेव कमरेडलाई पनि राष्ट्रिय सभामा लैजाउँ । उहाँका अरु चासोहरू हल हुँदै जान्छन् । आबश्यकता अनुसार संविधान संसोधन पनि होला । तर, अहिले वामदेव कमरेडले म संविधान संसोधन नभई राष्ट्रियसभामा जाँदैजान्न चाहिँ भन्न मिलेन । हामीले भनेपछि आग्रह स्वीकार गर्नुपर्‍यो ।

    लगत्तै माधवकुमार नेपालले भने: बामदेव कमरेडले अहिलेको परिस्थिति र बाहिरको माहौल बुझीहाल्नु भएको छ । अब तपाईंले शर्त राख्न भएन । तपाईं राष्ट्रिय सभामा जानुपर्‍यो । पार्टीभित्र यो विषयमा अब धेरै विवाद र छलफल गर्दा झन नराम्रो सन्देश जान्छ । कार्यदलको विषयमा विरोध भयो । यसलाई भंग गरेर अगाडि बढौँ । भविष्यका कुरा अहिले धेरै नगरौँ ।

    यसपछि पालो थियो वामदेवको । उनले भने: मैले राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संसोधन गर्नुस्, म जान्छु भनेकै हो । अहिले पनि मेरो भनाइ त्यहीँ हो । कार्यदलै बनाउन सकिएन भने अहिलेलाई ठिकै छ । म राष्ट्रियसभामा जान्छु । तर, तपाईंहरू संविधान संसोधनका लागि सहमत हुनैपर्छ । मेरो अडान यथावत छ ।

    वरिष्ठ नेता नेपालमार्फत नेकपा सचिवालयलाई प्रधानमन्त्री ओलीका पाँच सन्देश दिएको पनि नयाँ पत्रिका दैनिकमा समाचार छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने नेकपा सचिवालयको निर्णयलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले चुनौती दिएका छन् । बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारको सिफारिसमा नेता गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने सर्वसम्मत निर्णय गरेको थियो । तर, निर्णयबाट असन्तुष्ट प्रधानमन्त्री ओलीले केहीबेरमै वरिष्ठ नेता माधव नेपाललाई बोलाएर सचिवालयको निर्णय कार्यान्वयन नगर्ने सन्देश दिएका छन् ।

    १.युवराजलाई हटाउन षड्यन्त्र भयो

    अहिले वामदेव गौतमलाई सांसद बनाउनेभन्दा पनि युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाउन पार्टीभित्रै षड्यन्त्र भएको छ । यसमा केही व्यापारी पनि मिलेका छन् ।

    २.वामदेव फेरिनु आश्चर्यजनक

    राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन भए मात्र सांसद हुन्छु भन्ने वामदेवको अडान थियो । तर, संविधान संशोधन नहुने स्पष्ट भइसक्यो । तैपनि वामदेव सांसद बन्न किन तयार भए ?

    ३.सांसद बनाउने अधिकार सरकारको

    राष्ट्रिय सभाका तीनजना सदस्य मनोनीत गर्ने विषय सरकारको विशेषाधिकार हो । पार्टीले त्यसमा सल्लाह–सुझाब दिन सक्छ । मलाई उचित नलागेमा मान्न बाध्य छैन ।

    ४.सचिवालयको निर्णय सैद्धान्तिक

    राष्ट्रिय सभामा वामदेव गौतमलाई सदस्य बनाउने भन्ने सचिवालयको निर्णय सैद्धान्तिक हो । अहिले नै तुरुन्तै सांसद बनाउने भन्ने निर्णय भएको छैन ।

    ५.मलाई तपाईंहरूको साथ चाहिन्छ

    अहिले म वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सक्दिनँ । युवराज खतिवडालाई पठाउँछु । यो मेरो अन्तिम निर्णय हो । यो निर्णयबाट म पछि हट्दिनँ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार