Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ‘चौरजहारी नरसंहार’को अनुसन्धानमा सिआईबीलाई किन सँलग्न गराइएन ?

    ‘चौरजहारी नरसंहार’को अनुसन्धानमा सिआईबीलाई किन सँलग्न गराइएन ?

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 4.3K
    SHARES

    काठमाडौं। जाजरकोटका नवराज विक मल्ल थरकी प्रेमिका लिन गाउँका १९ जना युवा लिएर रुकुम पश्चिम चौरजहारी–८ सोती गएपछि उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा गर्दै लखेटे । घटनामा कहालिलाग्दो अवस्था आयो, नवराजसहित ५ जनाले ज्यान गुमाए, १ जना बेपत्ता भए । यो नरसंहार घटनाबाट १२ जना मुस्किलले बाँचेका छन् । घटनापछि प्रेमिका भनिएकी १७ वर्षीया किशोरीसहित १८ जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ ।

    गृह मन्त्रालयले  ‘चौरजहारी नरसंहार’को अनुसन्धानका लागि सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेसंगै प्रहरीको भूमिका फेरी खुम्चिएको टिप्पणी हुन थालेको छ।



    समितिमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल रहेका छन् ।



    सरकारले कोरोना महामारी रोक्न देशभर लकडाउन गरिरहेको छ। लकडाउनमा हुल बाधेर हिडडुल गर्न नलिल्ने नियम बनाइएको छ। लकडाउनमा प्रहरीले हुल बाधेर हिंडेका उनीहरुलाई रोक्न सकेको भए  यो डरलाग्दो घटना घट्दैन थियो होला । प्रहरीको सुचना संयन्त्र पनि कमजोर देखिएको छ।

    घटनाको सत्य तथ्य छानविन गर्ने जिम्मा नेपाल प्रहरीमाथि पनि छ । अनुसन्धानको नेतृत्व निजामती कर्मचारीलाई दिँदा  निर्मला पन्त र चर्चित साढे ३३ केजी सुन तस्करी प्रकरणमा जसरी नेपाल प्रहरी चुकेको छ, त्यसरी नै नवराज विक प्रकरणमा पनि चुक्यो भने के होला ?

    नेपाल प्रहरीकै एक डिआईजी भन्छन,’ डेढ महिनाको कार्यकाल बाँकी रहेको अवस्थामा आईजीपी ठाकुरप्रसाद ज्ञवालीमाथि यो घटना चुनौति र अवसर दुवै हो । यसलाई अब उनले कसरी पार लगाउँछन् ? त्यो भने हेर्न बाँकी छ ।’

    घटनालाई तोडमोड गर्ने र राजनीतिकरण गर्ने अवस्था सृजना भएमा यो प्रकरण पनि निर्मलाको जस्तै नहोला भन्न सकिन्न। त्यसैले यसप्रति नेपाल प्रहरीको सचेत हुन जरुरी रहेको उनको भनाइ छ  ।

    चर्चित साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरण अनुसन्धानका नाममा प्रहरीको सम्पूर्ण भूमिका सिंहदरबारस्थित गृह मन्त्रालयमा तानेपछि गृहमन्त्री रामवहादुर थापा बादल असक्षम बने।

    फलस्वरुप अहिले सम्म पनि एक लाल सुन पत्ता लाग्न सकेको छैन। जटिल र संगठित अपराधको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरी मुख्यालयबाट खोसेर गृह मन्त्रालयमा ल्याइएपछि अहिले पनि सोही श्रींखला दोहोराइएको छ ।

    संगठित अपराधमा दखल नमानिने निजामती कर्मचारीलाई अनुसन्धानको जिम्मेवारी सुम्पिइएको छ । कञ्चनपुर घटनाको अनुसन्धान गर्ने जिम्मेवारी पनि गृह मन्त्रालयले आफ्नो हातमा लिंदा निर्मला प्रकरण अहिलेसम्म रहस्यकै गर्भमा छ ।

    चौरजहारी नरसंहार घटनामा आईजीपी ठाकुरप्रसाद ज्ञवालीले  गृहलाई कन्भिस गर्न नसक्दा अनुसन्धानमा कर्मचारी संयन्त्र हावी देखिएको छ।

    जसका कारण गम्भिर प्रकृतिका घटनाको अनुसन्धान गर्ने निकाय केन्द्रिय अनुसन्धान व्युरो ( सिआईबी) को भूमिका समेत खुम्चिन पुगेको छ । सिआईबीको इतिहासमा दर्जनै जटिल घटनाको सफल अनुसन्धान भएका उदाहरण छन् ।

    प्रहरी नेतृत्वको यस्तै लाचार र असक्षमका कारण बारम्बार प्रहरीको क्षमता र कार्यशैलीमाथि मात्र प्रश्नचिन्ह खडा हुने गरेको छ भने बहालवाला अधिकृतहरूमा पनि निराशा र असन्तुष्टी बढ्दो क्रममा छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार