Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफ्नै सांसदले धोका दिंदा मुख्यमन्त्री बन्ने कँडेलको सपना चौथो पटक असफल

    आफ्नै सांसदले धोका दिंदा मुख्यमन्त्री बन्ने कँडेलको सपना चौथो पटक असफल

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । हिजो (शुक्रबार) नेकपा एमालेका चार सांसदले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन उल्लंघन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आदेश मान्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद एकाएक जोगियो ।

    शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिएका शाहीलाई आफ्नो पद जोगाउन ३९ सदस्यीय प्रदेशसभामा २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर, मुख्यमन्त्री शाहीले २२ मत पाए ।



    एमालेका चार सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेपछि उनको पद जोगिएको थियो । शाहीको पक्षमा एमालेका ४, उनको दल माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सहित २२ सांसदले मतदान गरेका थिए ।



    मुख्यमन्त्री शाहीको पक्षमा एमाले नेता माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मतदान गरेका हुन् ।

    मतदान प्रक्रियामा तत्काल कायम रहेको प्रदेशसभाको ३९ सदस्य मध्ये ३७ जना सहभागि भएका थिए।

    शाहीले राखेको प्रस्तावको विपक्षमा एमालेका १५ सांसदले मतदान दिए। प्रदेशसभामा एमालेका तर्फबाट सदस्य रहेका सभामुख र राप्रपाका एक सदस्यले मतदान गरेनन्।

    हिजोको यो घटनाक्रमसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको चौथो पटक मुख्यमन्त्री बन्ने प्रयास फेरि पनि असफल भयो । यसअघि तीन पटकसम्म उनले मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए ।

    तीन वर्षअघि एमाले र माओवादी केन्द्रले भागबन्डा मिलाउँदा कर्णाली माओवादी केन्द्रको भागमा परेको थियो । तर, कँडेलले अन्तिमसम्म पनि मुख्यमन्त्रीको दाबी छाडेका थिएनन् ।

    यद्यपी केन्द्रको निर्देशनपछि शाही मुख्यमन्त्री त बने । तर, यस अवधिमा कँडेलको अगुवाइमा मुख्यमन्त्रीविरुद्ध चार पटक कुर्सीबाट हटाउने खेल भयो ।

    समर्थन फिर्ता प्रकरणभन्दा अगाडि तत्कालीन नेकपा संसदीय दलका नेता रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । पछि नेपाल समूहका सांसदहरूको सहयोगमा कात्तिक ७ गते उक्त प्रस्ताव असफल भयो ।

    त्यस्तै २०७६ साउनमा केही सांसदले भनेअनुसार बजेट संशोधन नभए सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने आशयसहित हस्ताक्षर संकलन गरेका थिए ।

    त्यसपछि २०७७ फागुनमा केही सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान चलाएका थिए ।

    यसरी चार–चार पटकसम्म पनि शाहीलाई हटाउने र आफू मुख्यमन्त्री बन्ने कँडेलको योजना यो पटक आफ्नै सांसदहरुले धोका दिंदा असफल हुन पुगेको छ ।

    यता नेता कँडेलले भने पार्टीको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाहिका लागि सिफारिस गरेका छन् ।

    शुक्रबार साँझ दलका नेता कँडेलको अध्यक्षतामा बसेको बैठकले चार सांसदलाई एमाले संसदीय दलले पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको हो ।

    नेता कँडेलले पार्टीका सांसदहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई समर्थन गरेपछि आक्रोश ब्यक्त गर्दै सांसदहरुबाट राजनीतिक अपराध भएको प्रतिक्रिया दिएका छन् ।

    जिम्मेवार व्यक्तिहरुबाट यस्तो कार्य हुने आफूले नसोचेको बताउदै कंडेलले भने, ‘पार्टीका माननीय साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार