Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • को हुन् महामन्त्रीमा निर्वाचित लोकप्रिय युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा ?

    को हुन् महामन्त्रीमा निर्वाचित लोकप्रिय युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा ?

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । कांग्रेसको केन्द्रीय कार्यालयमा भएको मतगणानामा ४ जना आकांक्षीलाई उछिनेर थापा र शर्माले विजयी हासिल गरेका हुन् ।

    मत परिणाम अनुसार विजयी भएका गगन थापाले ३०२३ र विश्वप्रकाश शर्माले १९८४ मत ल्याए । त्यसैगरी तेस्रो नम्बरमा डा. प्रकाशशरण महत १५५०, चौथोमा प्रदीप पौडेलले १४०९, पाँचौमा डा. मिनेन्द्र रिजाल ८०९ र छैटौमा रहेका डा. राजाराम कार्की १०७ पाएका छन् ।



    कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।



    थापा डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा उत्रिएका थिए भने शर्मा प्रकाशमान सिंह समूहबाट चुनावी मैदानमा थिए । सभापति शेरबहादुर देउवा समूहबाट उठेका डा. प्रकाश शरण महत र प्रदीप पौडेलले चुनाव हारे । कोइराला समूहकै रक्षामन्त्री समेत रहेका मिनेन्द्र रिजाल पनि चुनाव हारे । चुनाव हारेपछि उनले रक्षामन्त्रीबाट समेत राजीननामा दिइसकेका छन् ।

    यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

     

    को हुन् गगन थापा ?

    स्कुले विद्यार्थी जीवनदेखि नै रानीतिमा सक्रिय थपा २०४६ सालको जनआन्दोलनमा क्रियाशील थिए । त्यतिबेला उनी कक्षा नौमा पढ्थे । क्याम्पस पढ्न थालेपछि राजनीतिमा होमिएका थापा त्रिचन्द्र क्याम्पसमा भर्ना भएसँगै नेपाली विद्यार्थी संगठनमा प्रवेश गरेका हुन् । नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बने ।

    २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सहभागिता रह्यो । उनी नेविसंघको महामन्त्री बने । थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे ।

    ०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए ।

    संसद र सरकारमा उनको उपस्थिति उपलब्धिमूलक र चर्चाको विषय बनिरह्यो । २०७४ को चुनावमा पनि उनी काठमाडौं–४ बाट निर्वाचित भए ।

    काँग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरेर केन्द्रीय सदस्य बनेका थापा १३ औं महाधिवेशनमा भने पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए । महामन्त्रीमा पराजित भएका उनी अहिले झण्डै दुई तिहाई मत ल्याएर महामन्त्री बनेका छन् ।

    को हुन् विश्वप्रकाश शर्मा ?

    २०२७ सालमा झापाको शान्तिनगरमा जन्मिएका शार्मा १० वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए ।

    २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बने । २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ नेवि संघ केन्द्रीय उपसभापति भए ।

    २०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । नेविसंघको राजनीतिपछि शर्मा पार्टीको जिल्ला राजनीतिमा जाने प्रयास गरे ।

    १२ औं महाधिवेशनमा उनी झापा जिल्ला सभापतिमा पराजित भएका उनी २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । शर्मा २०७४ सालमा नेपाली काँग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने ।

    २०७० र ७४ मा भएको आम चुनावमा झापामा पराजित भएका उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार