Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • केएमसीका विद्यार्थी सहनी मृत्यु प्रकरणः

    प्रहरी हिरासतमै कलेजको ज्यादतीविरुद्ध मुख खोले विद्यार्थीले (भिडियो सहित)

    प्रहरी हिरासतमै कलेजको ज्यादतीविरुद्ध मुख खोले विद्यार्थीले (भिडियो सहित)

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) मा अध्यनरत रौतहटका १८ वर्षीय सुशील सहनीको मृत्यु प्रकरणमा उनका साथीहरुले प्रहरी हिरासतभित्रैबाट कलेज र होस्टेलको ज्यादतीविरुद्ध मुख खोलेका छन् ।

    सहनीको होस्टेलभित्र रहस्यमय मृत्यु भएको घटना लुकाउन कलेजका संचालक रामेश्वर अर्यालले प्रदर्शनमा उत्रेका विद्यार्थीहरुमाथि प्रहरी लगाएर दमन गरेका थिए ।



    उक्त घटनालाई गुपचुप बनाउन खोजेका अर्यालले विद्यार्थीहरुलाई प्रहरीको आडमा थुनाएका छन् । सहनीको होस्टेलमा आएको चार दिनमै मृत्यु भएको हो ।



    यद्यपी हिरासतमै रहेका एक विद्यार्थीले सहनीको मृत्युको कारण होस्टेल व्यवस्थापन भएको बताएका छन् । केएमसीको १२ मा अध्ययनरत विद्यार्थी आयुष पन्तले सहनीको मृत्युको कारण होस्टेलको अनम्यानेजमेन्ट नै भएको बताएका हुन् ।

    आफ्नै फेसबुकबाट भिडियो सेयर गर्दै उनले भनेका छन्–‘एक महिना अघि होस्टेलमा पनि यस्तै घटना भएको थियो । त्यतिबेला पनि केएमसीको प्लसटुमै अध्ययनरत हाम्रा साथी अभय मेहता होस्टेलमै सिकिस्त परेका थिए । उनलाई तुरुन्तै अस्पताल पुर्याइएकाले उनी अहिले हाम्रो माझमा छ । तर अपसोच सुशील सहानी आज हामीमाझ छैन । उसको मृत्युको कारण होस्टेलको अनम्यानेजमेन्ट नै हो ।’

    आफूहरुलाई जबर्जस्ती भृकुटीमण्डमस्थित प्रहरी कार्यालयभित्र ल्याइएको बताउँदै उनले कलेज प्रशासनले पनि आफूहरुमाथि भएको दमनमा कुनै एक्सन नलिएको जनाएका छन् ।

    होस्टेलमा रहेको ग्यास गिजरको अवस्था ठीक नभएकाले सहनीको शरिरमा कार्बनमोनोअक्साइडको मात्रा बढी हुँदा उनको मृत्यु भएको पन्तले भिडियोमा भनेका छन् ।

    अभय मेहताको घटना पछि आफूहरुले होस्टेल प्रशासनलाई पटक–पटक समस्या सुल्झाउन आग्रह गरेको तर प्रसासनले वेवास्था गर्दा सहनीको मृत्यु भएको उनको भनाई छ । यसअघि मेहेता पनि गिजरकै कारण बाथरुममा वेहोस भएका थिए ।

    चारदिन अघि मात्र रौतहटबाट आएका सहनीको होस्टेलमै मृत्यु भएको थियो । केएमसी प्रशासनले होस्टेलको लापरबाहीमाथि अनुसन्धान गर्नुको साटो उल्टै प्रहरी लगाएर विद्यार्थी थुनाउने काम गरेको छ ।

    हुनत केएमसीका लुटधन्दा यसअघि पनि पर्दाफास नभएको भने होइन । केएमसीले कोभिड महामारीको समयमा पनि अनलाइन क्लास लिने क्रममा बिद्यार्थीहरुबाट अतिरिक्त रकम असुलेको भन्दै केही अभिभावकहरुले विरोध समेत गरेका थिए ।

    तर, सञ्चालक अर्यालको राजनीतिक पहुँचकै कारण उक्त घटन पनि गुपचुप नै बन्न पुग्यो । कोभिडकै समयमा घरमा बसेर अनलाइन क्लास लिएका बिद्यार्थीहरुबाट समेत केएमसीले होस्टेलको शुल्कको ५० प्रतिशत रकम असुलेको अभिभावकहरुको गुनासो छ।

    केएमसीका संचालक अर्यालले बिद्यार्थीहरुबाटै असुलेको अबैध पैसाबाट बागबजारमा दुई वटा भवन निर्मण गरिरहेका छन् । तर उनले आफ्नै बिद्यार्थीको रहस्यमय मृत्यु हुँदा समेत उल्टै बिद्यार्थीहरुमाथि प्रहरी लगाएर दमन गरिहँदा उनीमाथि विद्यार्थी र अभिभावकहरुले प्रश्न उठाएका छन्।

    यसअघि त्रिभुवन विश्वबिद्यालयको प्रोफेसर हुँदा अर्यालले खेताला शिक्षकहरु लगाएर पढाउन लगाएर आफू भने बागबजारमा कलेज संचालन गरेर बस्ने गरेका थिए। यसबारे संचालक अर्यालसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

    आफ्नै साथीको मृत्यु के कारणले भएको हो भनेर त्यसको खोजिनीति गर्नुपर्ने आवाज उठाइरहेका विद्यार्थीहरुलाई उल्टै प्रहरी लगाएर संचालकले नै दमन गरेपपछि केएमसीका बिद्यार्थीहरु अब कसरी सुरक्षित होलान ? भन्दै चौतर्फी प्रश्न उठ्न थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार