Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नवनियुक्त आईजीपी सिंह : बैंकिङ कसुरका भिआईपी ठगलाई कारवाहीदेखि गुण्डागर्दीविरुद्ध दर्जन अपरेशन

    नवनियुक्त आईजीपी सिंह : बैंकिङ कसुरका भिआईपी ठगलाई कारवाहीदेखि गुण्डागर्दीविरुद्ध दर्जन अपरेशन

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी )धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार बिहान आयोजित कार्यक्रममा आईजीपी सिंहले दर्ज्यानी चिन्ह लगाएका हुन्।

    आईजीपी सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइ दिएका हुन् । सरकारले आईतवार सिंहलाई आईजीपीमा बढुवा गरेको थियो।



    प्रहरी संगठनभित्र कमाण्डिङ क्षमतामा अब्बल र निष्कलंक छवी बनाउन सफल एआईजी सिंह २०४९ चैत ११ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । जिल्ला, प्रदेश र सिआईबी प्रमुख हुँदा ठूला घटनाहरुको सफल अनुसन्धान गरेका  सिंह सेवा प्रवेशको ३०औं वर्षमा प्रहरी प्रमुख बन्न सफल भएका हुन् ।



    को हुन् सिंह ? 

    दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए । तर वैकल्पिक सूचीमा परे र २०४९ चैतमा नियुक्ति लिए ।

    ३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् । डीआईजी छँदा सिंहले मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका थिए न् । त्यस्तै एसएसपी छँदा उनले तत्कालीन महानगरीय अपराध महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय) को नेतृत्व गरेका थिए । एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए ।

    सिंहले जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुख हुँदा सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ललाई गोली प्रहार गर्ने सुटर रुपेश गिरीलाई पक्राउ मात्र गरेनन् तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका थिए ।

    त्यसैगरी दाङका व्यवसायी राजकुमार श्रेष्ठ हत्याको प्रमुख अभियुक्तलाई पक्राउ गरेको श्रेय पनि उनै सिंहलाई नै जान्छ । पर्सा र दाङका प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा धेरै अभियानहरु सञ्चालनमा ल्याएर सफल भएका सिंहलाई सरकारले प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । उनले जिल्ला प्रहरी प्रमुख हुँदा सञ्चालनमा ल्याएका आधा दर्जन अभियानमध्ये अपराध नियन्त्रण एवं अनुसन्धानका सवालमा विशेष र महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भए । संगठन भित्र कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका सिंहले आफ्नो कार्यकाल विशेष र सफल बनाउँदै आएका छन् ।

    अपराध महाशाखाको गुमेको छवीमा सुधार ल्याउने काम पनि उनै सिंहले नै गरेका हुन् । महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी सुन काण्डमा कारबाहीमा तानिएपछि महाशाखाको छवी गुमेको थियो । त्यसपछि प्रमुख बनेर आएका सिंहले नै महाशाखाको छवीमा सुधार ल्याएका थिए । त्यतिबेला एसएसपी सिंहमाथि उपत्यकाभित्र शान्ति सुरक्षा मजबुत बनाउन र आपराधिक समूहलाई निगरानी गरी कार्यसम्पादन गर्ने ठूलो चुनौती थियो ।

    तत्कालिन आईजीपी सर्वेन्द्र खनालले महाशाखामा बस्दा बनाएको साख जोगाउन पनि सिंहमाथि चुनौती थियो । यो चुनौतीलाई आफू मातहतका प्रहरी कर्मचारीलाई परिचालन गरेर एसएसपी सिंह सफल भएको उनले गरेका कामहरुबाट नै पुष्टि हुन्छ ।

    महाशाखामा बस्दा उनले आफूलाई अब्बल सावित गरेरै छाडे । सिंहले नै राजधानीभित्रका गुण्डा तथा आपराधिक समूहको सूची तयार पारेर कारबाही चलाएका थिए ।

    त्यसैले एसएसपी सिंहको पालामा ठूला काण्ड हुन पाएनन् । हतियारको आडमा चर्को ब्याज असुल्ने मिटरब्याजीदेखि, अपहरणकारी, हत्यारा र फरार अभियुक्तसम्मलाई सिंहले कारवाहीको डण्डा बर्षाए । विभिन्न खेलमा हुने सट्टेबाजी गिरोहका नाइके नागराज भन्ने नथमल अग्रवाल पनि उनको फन्दामा परे । एसएसपी सिंहले महाशाखामा रहँदा एक वर्षको अवधिमा गुण्डागर्दीविरुद्ध आधा दर्जन बढि अपरेशन गरेका थिए ।

    शान्ति सुरक्षा मजबुत बनाउने क्रममा एसएसपी सिंहको कार्यकालका बेला ललितपुरको युएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार भएको थियो । उनीमाथि जवाफी कारबाहीस्वरुप गोली प्रहार गरेर पक्राउ गरिएको थियो । कालीमाटीबाट गुण्डा नाइके राजनकुमार भुजेल र काठमाडौंको मूलपानीमा ‘खुँडे’ भनिने अमरबहादुर तामाङलाई गोली नै चलाएर नियन्त्रणमा लिएपछि टोलेगुण्डाहरूमा आतंक मच्चिएको थियो ।

    सिंहले नै महाशाखामा रहँदा ललितपुरका महेशबहादुर सिंह, विरेन्द्रलाल श्रेष्ठलगायतबाट हतियार जफत गरेको थियो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर महेशबहादुर सिंहले मिटर ब्याजको धन्दा चलाउँदै आएका थिए । ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका गुण्डा नाइके राजु गोर्खालीलाई काठमाडौं मलमा ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइयो ।

    १९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामा ठमेलबाट पक्राउ परे । गुण्डा छुटाउन पुगेकी नेकपाकी सांसद नवीना लामालाई एसएसपी सिंहले हप्काएर पठाएका थिए । एसएसपी सिंहले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका नाइके समिरमान सिंह बस्नेतकी श्रीमती माया शेरचनसहित फरार रहेका सुटरहरु उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीलगायतलाई भारतबाट पक्राउ गरी मुद्दा चलाए । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शिव धिमाल र डिकेन्द्र राईलाई पनि एसएसपी सिंहकै टोलीले पक्राउ गरेर कारबाही गरेको थियो ।

    रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गर्ने समिरमान समूहका नवराज तामाङ, दिपेश भन्ने सन्त बहादुर तामाङ, बिक्रम श्रेष्ठ र दिपक रन्जितकार र रवि कुमार तामाङ्गलाई डाँका चोरी समेतको कसूरमा महाशाखाले पक्राउ गरी अनुसन्धान गरेको थियो थियो । लुटपाटको यो घटना एकदमै डरलाग्दो भएपनि एसएसपी सिंहको विशेष सक्रियताका कारण आपराधिक गिरोह फन्दामा परेको थियो । त्यसैगरी, उनैको पालामा महाशाखाले काठमाडौंको बसुन्धरास्थित बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिष्फोट गराउने कार्यमा संलग्न बिशाल तामाङ भन्ने राजिब तामाङ, नुम बहादुर बिकलाई पक्राउ गरी बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान कारबाहीको लागि महाराजगञ्ज बृत्त पठाएको थियो । गोंगबुस्थित त्रिबेणी गेष्ट हाउसका सञ्चालक प्रबिण कुँवरको छोरा बर्ष ८ को प्रयास कुँवरलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न महेन्द्र एसके सार्कीलाई एसएसपी सिंह २४ घण्टा भित्र पक्राउ गराउन सफल भए ।

    भक्तपुरमा वालक निशान खड्कालाई अपहरण लगत्तै हत्या गरेर फरार रहेका २ जना अभियुक्तको महाशाखाकै टोलीसँगको भुठभेडमा मृत्यु भएको थियो । जुन कारबाहीले समाजमा प्रहरीले राम्रो ग-यो भनेर प्रशंसा भएको थियो । बैकिङ कसूरमा फरार रहेका चर्चित व्यक्ति तत्कालिन किष्ट बैंकका सिइयो कमलप्रसाद ज्ञवालीलाई महाशाखाकै टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको थियो ।

    त्यसपछि डिआईजीमा बढुवा भएर मधेश प्रदेश (तत्कालिन प्रदेश नं २) को प्रमुख बनेका सिंहले नै अवैध रुपमा भित्राइने गरेका साना हतियार तथा लागूऔषध, तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । सिंहकै पालामा प्रदेश २ प्रहरीले सञ्चालन गरेका अभियानहरुमा अपराध नियन्त्रण र अनुसन्धानका सवालमा प्रभावकारी बनेर गएका छन् ।

    २ नम्बर प्रदेशको प्रमुख हुँदा उनै सिंहले मानिसलाई जिउँदै जलाउनेलाई भारतबाट ल्याएका थिए । सिंहले भारतको मोतिहारीबाट पक्राउ परेका रौतहटको राजपुर बमकाण्डका नाइके नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलमले दाजुको निर्देशनमा दुई जनालाई जिउँदै जलाएको प्रहरीसामु स्वीकारेका छन् । प्रहरीसँगको प्रारम्भिक बयानमा महताफले २०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटमा घाइते भएका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई दाजुको निर्देशनमा ईट्टाभट्टामा जिउँदै जलाएको स्वीकार गरेका थिए ।

    प्रदेश प्रमुख पछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी प्रमुख बनेका एआईजी सिंहले पूर्व सांसदमाथि पनि कारबाही गरे । जनताको अर्बौं रकम फिर्त नगर्ने सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङलाई सिंहले नै पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाए । सिआईबीले त्यतिबेला सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित सहकारीका १२ जना कर्मचारीलाई पक्राउ गरेको थियो । तामाङले विभिन्न सहायक कम्पनी खडा गरेर सहकारीको ८ अर्बभन्दा बढी रकम हिनामिना गरी ठगी गरका थिए ।  सिंहले नै अमेरिकामा लुकेर बसेका कुख्यत बन्यजन्तु तस्कर र बैंकिङ कसुरका ६ जना ‘अपराधी’ लाई झिकाउन प्रयास गरेका थिए ।

    सिंहले गरेको अर्को महत्वपूर्ण काम भनेको बालुवाटारस्थित सरकारी जग्गा (ललिता निवास) प्रकरणको अनुसन्धान नै हो । सिंहले सरकारी जग्गा आफ्नो नाममा बनाउने सबैलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने तयारी थालेको थियो । तर, तत्कलिन सरकारले नै सिंहलाई अगाडि बढ्न दिएन । जसकारण उनी ‘ब्याक’ हुन बाध्य भए । सिंहले ललिता निवास जग्गा घोटालाका मुख्य नाइके भाटभटेनी सुपमार्केटका प्रमुख मिनबहादुर गुरुङ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्दलाल संघाई, विचौलियाका रुपमा चिनिने कैलाशचन्द्र गोयललगायत दर्जनौं व्यक्तिहरुमाथि अनुसन्धान गरेका थिए ।

    सिआईबीमा रहँदा सिंहले १६ वर्षअघिको कलंकी हत्याकाण्डको सफल अनुसन्धान गर्न भ्याए । गत साउन २९ गते सिआईबीको टोलीले १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको थियो । काभ्रेपलाञ्चोक फुलबारी घर भई कलंकी बस्दै आएकी २८ वर्षीय भगवती लामा अधिकारी हत्याको १६ वर्षपछि सफल अनुसन्धान भएको हो । २०६२ साल पुस ६ गते कलंकीको लामपाटीस्थित आफ्नै डेरामा जिउँदै आगो लगाएर एक महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई सिआइवीको टोलीले २०७८  साउनमा पक्राउ गर्न सफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार