Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिटरोल बाहिर ल्याउने हवल्दार कारबाहीमा, डिआईजीको नागरिकता बाहिर ल्याउने चाहिं पुरस्कृत ?

    सिटरोल बाहिर ल्याउने हवल्दार कारबाहीमा, डिआईजीको नागरिकता बाहिर ल्याउने चाहिं पुरस्कृत ?

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 819
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले उच्च अधिकृतहरुको जन्ममिति सम्बन्धी विवरण बाहिर ल्याएको भन्दै एक प्रहरी हवल्दारमाथि कारबाही प्रकृया अगाडि बढाएको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको जन्ममिति विवाद सार्वजनिक भएका बेला प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित अरु अधिकृतहरुको पनि जन्ममिति, सिटरोलको विवरण सार्वजनिक भएको थियो ।

    उक्त विवरण अनुसार एक एआईजीसहित आठ डिआईजीको जन्ममिति फरक देखिन्छ । गोप्य रहनुपर्ने सिटरोलको विवरण सार्वजनिक भएपछि प्रहरीले आन्तरिक छानबिन गरेको थियो । त्यसक्रममा भएको जाँचमा भाइबरमार्फत गोप्य विवरण पठाएको देखिएपछि कर्मचारी प्रशासन शाखाका हवल्दार दीपक विष्ट कारबाहीमा परेका हुन् ।



    विष्टलाई कर्मचारी प्रशासन शाखाबाट हटाएर १ नम्बर प्रहरी गणमा काज सरुवा गरिएको छ । विष्ट विगत १० वर्षदेखि कर्मचारी प्रशासन शाखामा कार्यरत थिए ।



    डीआईजी सिंहको जन्ममिति विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ फागुनमा उजुरी परेको थियो । प्रहरीका उच्च अधिकारीहरुको योजनामा उजुरी परेको स्रोतको दावी छ । इन्सपेक्टरदेखि डिआईजी हुँदासम्म जन्ममितिबारे विवाद नआउनु तर, आईजीपीको दौडमा रहेका बेला जन्ममिति फरक परेको भन्दै मुद्दा दर्ता हुनुले पनि उनकै व्याचीहरु संलग्न भएको आशंका प्रहरीका केही उच्च अधिकारीहरुले गरेका छन् ।

    सिंहको नागरिकता र शैक्षिक प्रमाण पत्रमा उल्लिखित जन्ममितिमा १ वर्ष ६ महिना २४ दिनको फरक देखिएपछि सिंहले छानविन प्रकृयालाई सहज बनाउनका लागि भन्दैै राजीनामा दि सकेका छन् । एक महिनापछिको आईजीपी हुने दौडमा रहेको डिआईजी सिंहलाई रोक्नका लागि उनकै व्याचीहरुले उक्त विवरण सार्वजनिक गरेको तथ्य बाहिर आइसकेको छ ।

    डिआईजी सिंहको नागरिकता अहिले सामाजिक सञ्जालहरुमा छरपष्ट पारिएका छन् । सिटरोल बाहिर ल्याएको आरोपमा हवल्दारलाई कारबाही गर्ने प्रहरी प्रधान कार्यालयले आईजीपीकै सचिवालयबाट डिआईजी सिंहको  नागरिकता छताछुल्ल पार्ने प्रहरी अधिकारीमाथि चाहिं कारबाही गर्न सक्दैन ?

    नागरिकता बाहिरिएको विषयमा भने प्रहरी प्रधान कार्यालयले अहिलेसम्म छानविन प्रकृया समेत अगाडि बढाउन सकेको छैन । सिटरोल बाहिर ल्याएको आरोपमा हवल्दारलाई कारबाही गर्ने प्रहरी प्रधान कार्यालयले डिआईजी सिंहको नागरिकता र गोप्य विवरण बाहिर ल्याउने उच्च अधिकृतहरुलाई चाहिं पुरस्कृत गर्न खोजेको हो ? यसको जवाफ आईजीपी धिरज प्रताप सिंहले दिनु पर्दैन ?

    सिंहको सिटरोलको विवरण सार्वजनिक हुँदा अन्य उच्च अधिकृतहरुको जन्ममितिको विवरण समेत बाहिर आएको थियो । जसमा एक एआईजीसहित आठ डिआईजीको जन्मिमिति फरक देखिन्छ । उनीहरुमाथि चाहिं छानविन हुँदैन ?

    यसरी सार्वजनिक विवरण अनुसार एआईजी दिवेश लोहनी, डीआईजीहरु भीमप्रसाद ढकाल, मसउद आलम खाँ, श्यामलाल ज्ञवाली, नलप्रसाद उपाध्याय, मोहन आचार्य, किरण बज्राचार्य, किरण राणाको जन्ममिति फरक–फरक पाइएको छ । यसबारे भने प्रहरी प्रधान कार्यालयले अहिलेसम्म मुख खोलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार