Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीका एआईजीसहित ६ डिआईजीको जन्ममिति फरक !

    नेपाल प्रहरीका एआईजीसहित ६ डिआईजीको जन्ममिति फरक !

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले उमेर झुक्याएर जागिर खाइरहेको भन्दै एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेर मिडियाबाजी गरिरहेको छ । डिआईजी सिंहविरुद्ध संगठनकै उच्च तहमा रहेका अधिकारीहरुले यसरी चरित्रहत्या गराएका छन् कि मानिलिउँं उनी ठूला अभियुक्त हुन्, जो गैरकानूनी रुपमा डिआईजीको रुपमा अझै वहाल छन् ।

    आईजीपी धिरजप्रताप सिंहले नै उनलाई एसएसपीबाट डिआईजीमा बढुवा गराए । तर, त्यो बेलामा उनको जन्ममिति फरक भएको किन हेरिएन ? अनलाइन नेपाललाई स्रोतबाट प्राप्त विवरण अनुसार डिआईजी सिंहको जन्ममितिमा १ वर्ष ६ महिना २४ दिन फरक परेको देखिन्छ । डिआईजी सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ ।



    उनको सिटरोल र शैक्षिक योग्यतामा जन्ममिति २०२५/९/१६ छ भने नागरिकतामा २०२४/२/२२ भएको प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखाना उल्लेख छ । जवकी उनले २०४२/२/२२ मा लिएको नागरिकतामा उनको उमेर १८ वर्ष लेखिएको छ ।



    त्यसैगरी एआईजी दिवेश लोहनीको पनि जन्ममिति ६ महिना २६ दिन फरक भेटिएको छ । उनको सिटरोलमा २०२४/६/२९ रहेको छ भने नागरिकतामा २०२५/१/१५ तथा शैक्षिक योग्यतामा २०२४/६/१९ उल्लेख गरिएको छ ।

    अनलाईन नेपाललाई प्राप्त विवरण अनुसार डिआईजी नलप्रसाद उपाध्यायको पनि जन्ममिति ६ महिना १४ दिन फरक भेटिएको छ । उपाध्यायको सिटरोल र नागरिकतामा २०२४/४/१९ तथा शैक्षिक योग्यतामा २०२४/११/३ उल्लेख गरिएको छ ।

    अर्का डिआईजी मोहन आचार्यको सिटरोल र शैक्षिक योग्यतामा २०२४/१०/१७ रहेको छ भने नागरिकतामा २०२४ साल मात्र उल्लेख गरिएको छ । डिआईजी मसउद आलम खाँको पनि ५ महिना १ दिन जन्ममिति फरक रहेको पाइएको छ । खाँको सिटरोलमा २०२५/७/१२ रहेको छ भने नागरिकतामा २०२५/१२/१३ तथा शैक्षिक योग्यतामा २०२५÷७÷११ उल्लेख गरिएको छ । उनकोे सिटरोल, नागरिकता र शैक्षिक योग्यता सबैमा जन्ममिति फरक–फरक रहेको पाइएको छ ।

    त्यसैगरी डिआईजी श्यामलाल ज्ञवालीको पनि जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ । उनको सिटरोल र शैक्षिक योग्यतामा २०२५/५/२६ रहेको छ भने नागरिकतामा २०२४/१२/२१ उल्लेख छ । ज्ञवालीले भने आफ्नो सबै कागजपत्रमा एउटै जन्ममिति २०२५/५/२६ रहेको र विवादमा ल्याउनका लागि झुटो विवरण सार्वजनिक गरिएको दावी गरेका छन् ।

    अर्का डिआईजी किरण बज्राचार्यको पनि जन्ममितिमा २९ दिन फरक भेटिएको छ । उनको सिटरोल र नागरिकतामा २०२५/९/१६ उल्लेख छ भने शैक्षिक योग्यतामा २०२५/८/१७ उल्लेख भएको पाइएको छ ।

    उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

    डिआईजी सिंहको मात्र नभई अन्य अधिकारीहरुको पनि सेवा प्रवेश गर्दाको उमेर, नागरिकता र सिटरोलमा जन्ममिति फरक–फरक भेटिएपछि आईजीपी धिरजप्रताप सिंह कानुनी परामर्शमा जुटेको बताइएको छ । प्रहरीमा अहिले डिआईजीबाट एआईजीमा बढुवाका लागि अस्वस्थ चलखेल भइरहँदा संगठनभित्र एकले अर्कोलाई हिलो छ्याप्ने प्रवित्ति मौलाएको छ ।

    आधा दर्जन अधिकारीहरुको उमेर फरक देखिएपछि गृह सचिव विनोद प्रकाश सिंह पनि कानूनी परामर्शमा जुटेको स्रोतले बतायो ।

    प्रहरी प्रवक्ता डिआईजी पोषराज पोखरेलले भने प्रहरी अधिकारीहरुको जन्ममिति फरक परेको छानविनको विषयमा आफूलाई कुनै जानकारी नभएको अनलाइन नेपालसँग बताए । उनले अहिले चर्चामा रहेको डिआईजी अशोक सिंहमाथिको छानविनको बारेमा पनि अनभिज्ञता प्रकट गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार