Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यौन काण्डमा मुछिएका एसएसपीको राजिनामा गृहमा अलपत्र

    यौन काण्डमा मुछिएका एसएसपीको राजिनामा गृहमा अलपत्र

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । यौन काण्डमा मुछिएका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालको राजीनामा गृह मन्त्रालयमा अलपत्र परेको छ । तीन साताअघि नै उनले राजीनामा दिएका थिए । कारबाही गरेर मात्र राजीनामा स्वीकृत गर्नुपर्ने दबाब आएपछि गृह मन्त्रालयले राजीनामा स्वीकृति नगरेको हो ।

    प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया अघि बढाएपछि उनले राजीनामा दिएर संगठनबाट बाहिरिने विकल्प रोजेका थिए । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पनि उनको निलम्बन फुकुवा गरी राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाएका थिए ।



    तर, यौन दुर्व्यवहार जस्तो गम्भीर घटनामा मुछिएका अधिकृतलाई कारबाही नगरिएको प्रश्न उठेपछि गृह मन्त्रालयले राजीनामा स्वीकृत नगरेको हो । गृहले निर्णयमा ढिलाइ गर्दा प्रहरी नेतृत्व समस्यामा परेको छ ।



    नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले महिला कर्मचारीलाई दुर्व्यवहार गरेका हुन् । बिदामा जान लागेकी एक महिला हवल्दारलाई निवासमा बोलाएर यौन दुर्व्यवहार गरेका थिए । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो ।

    सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । पछि डिआइजीको नेतृत्वमा उच्चस्तरीय समिति गठन भयो । समितिले स्थलगत रूपमै अध्ययन गरेको थियो ।

    सबै पक्षसँगको कुराकानी र प्राविधिक विश्लेषणका आधारमा उनले महिला हवल्दारलाई दुर्व्यवहार गरेको प्रष्ट भएको प्रतिवेदनमा उल्लेख भएपछि उनको ग्रेड घटुवा हुन लागेको थियो ।

    बिदामा जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन प¥यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेका थिए । कार्यालयका अन्य महिला प्रहरीलाई पति विगतमा त्यसैगरी दुर्व्यवहार गरेको छानबिनमा खुलेको छ ।

    विगतमा पनि यस्ता घटनामा एसएसपी पालमाथि छानबिन हुँदै आएको थियो । उनी राष्ट्रिय अनुसन्धान विभागबाट राजनीतिक सोर्सफोर्सका आधारमा नेपाल प्रहरीका स्थानान्तरण भएका अधिकृत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार