Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ७३ वर्षपछि पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

    ७३ वर्षपछि पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो ।

    मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी ११० देखि ११३ उडानरअवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ ।



    विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दसैँको घटस्थापनायता दैनिक हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । उनका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ ११३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान संख्या हो । गत असोज ३० गते ११० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक ११० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।



    “विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो । चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ”, विमानस्थलका महाप्रबन्धक तिवारीले भने । अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उनले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

    विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक २७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन् । महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी झण्डै ५०० उडान भइरहेको बताए । उनले भने, “दैनिक ५०० हाराहारी उडान भइरहेको छ । यो निकै बढी हो, विमानस्थल स्थापनाभएयता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन् ।”

    विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजारभन्दा बढीले हवाई यात्रा गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार ५०० र आन्तरिकतर्फ हरेक घण्टा ५०० यात्रु व्यवस्थापन गर्ने क्षमता छ ।

    कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु सङ्ख्या बढिरहेको विमानस्थलले जनाएको छ ।

    नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाइ मैदानको रुपमा प्रयोग गर्न सन् १९४९ बाट शुरु गरिएको थियो । पहिलो पटक ‘बीचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको यो विमानस्थलबाट पहिलो पटक सन् १९५० फेब्रुअरी २० मा हिमालयन एभिएसनको डाकोटा विमान कोलकात्ता उडान भरेको थियो । उक्त विमानस्थलको तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उद्घाटन गरेका थिए । सन् १९६४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण भएको थियो ।

    यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेटविमानको रुपमा अवतरण गरेको थियो । विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट सुरु भएको हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार