Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एआईजी ज्ञवालीलाई फसाउन को–को लागे ?, खरेल र मल्लले गरे कडा प्रतिवाद

    एआईजी ज्ञवालीलाई फसाउन को–को लागे ?, खरेल र मल्लले गरे कडा प्रतिवाद

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 9.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजीद्वय रमेश खरेल र हेमन्त मल्ल ठकुरीले पछिल्लो समय नेपाल प्रहरीका इमान्दार अधिकारीमाथि राजनीतिक तहबाट भइरहेका प्रहारप्रति कडा शब्दमा विरोध जनाएका छन् ।

    एआईजी श्याम ज्ञवालीले जन्ममिति विवादमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ‘क्लिनचिट’ पाइसक्दा समेत उजुरीको सामना गर्न परेपछि खरेल र मल्लले राजनीतिक नेतृत्वले दुःख दिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका हुन् ।



    एआईजी ज्ञवालीले दुःख पाएकोप्रति इंगित गर्दै खरेलले फेसबुकमा लेखेका छन्–‘हालको अवस्था र मनोबल गिराउन विशेष भूमिका निर्वाह गर्ने नायकहरुमध्ये एक शेरबहादुर देउवा प्रवृत्ति र प्रात्रहरुबाट निडर, व्यवसायिक र सक्षम प्रहरी अधिकारीहरुलाई प्रहार र भूमिकाविहीन बनाउने कार्यहरु हालसम्म जारी । कृपया व्यक्तिगत स्वार्थ भन्दा माथि ऊठेर संगठनको लागि एक जुट हौं ।’



    त्यसैगरी पूर्व डिआईजी मल्लले पनि एआईजी ज्ञवालीप्रति सहानुभूती देखाउँदै फेसबुकमा स्टाटस लेखेका छन् ।

    मल्लले शनिबार फेसबुकमा लेखेका छन्–‘आज मैले राज्य व्यवस्था समितिले प्रअमनी श्याम ज्ञवालीको उमेर सम्बन्धी छानबिनका लागि गृहलाई पत्र लेखेको समाचार पढें । यो विवादमा अख्तियार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले समेत छानबिन गरी सफाई दिई सकेको कुरा सार्वजनिक भइसकेको छ । सर्वोच्च अदालतमा परेको रिट खारेज भए पश्चात् पुनरावलोकन जाँदा पनि दुई जना न्यायाधीशको बेञ्चले आधार पुष्टि हुने नदेखिएको भनेर निर्णय भइसक्दा पनि पुनः यो विषय उचालिंदा मलाई अचम्म लागेन । किनकी श्यामसहित भुटानी शरणार्थी अनुसन्धानमा लागेकालाई राजनितिज्ञहरुले दुःख दिन्छन् भनेर हामिले त्यो बेला भनेकै हो । एउटा उच्चस्तरको अधिकारीले राम्ररी अनुसन्धान गरे बापत यसरी दुःख पाउँछ भने अरु कर्मचारीमा यसले पार्ने असरको बारेमा नेता भनाउँदाले विचार गरेका छन त । यो भनेको सम्पूर्ण राजनैतिक नेतृत्व वर्ग एउटा प्रहरी अधिकारीसँग डराएको भनेर हामीले बुझ्नु पर्छ ।’

    अख्तियारले गत बैशाखमा नै एआईजी ज्ञवालीमाथि परेको उजुरीमा कुनै कैफियत नदेखिएको जनाइसकेको छ । अख्तियारले गृह मन्त्रालयलाई एक महिनाको समय दिएर अनुसन्धान गरी जवाफ दिन निर्देशन दिएको थियो । गृह मन्त्रालयले ज्ञवालीमाथि प्रहरी सेवामा प्रवेश गर्दा शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति सच्याएर सेवामा प्रवेश गरेको नदेखिएको भन्दै जवाफ दिएपछि अख्तियारले ज्ञवालीविरुद्ध परेको उजुरीलाई तामेलीमा राखेको थियो ।

    ज्ञवाली आईजीपीको प्रतिस्पर्धामा रहेका बेला उनीविरुद्ध उजुरी परेको थियो । ज्ञवालीलाई कुनै पनि हालतमा आईजीपी हुनबाट रोक्न पूर्व आईजीपी धिरजप्रताप सिंह र उनी निकट एक विचौलियाले ठूलो भूमिका खेलेका थिए । राज्यका धेरै ठेक्कापट्टामा विचौलियाको रोल खेल्ने दोहोरो नागरिकताधारी ती ब्यक्तिले धुम्बाराहीसँग सिंहलाई नजिक बनाईदिएको दावी गर्दै हिंडेका थिए ।

    ज्ञवाली आईजीपीको रेसबाट बाहिरिएर एआईजीमै सिमीत रहेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भए । त्यसपछि भुटानी शरणार्थी प्रकरणको छानविन शुरु भयो । छनविनका क्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाँडदेखि नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित दर्जनौ व्यक्तिहरु पक्राउ परे ।

    ज्ञवाली मातहतको उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा अख्तियारका प्रमुख आयुक्त प्रेम राईदेखि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासम्मको नाम जोडिएको विभिन्न मिडियाहरुमार्फत सार्वजनिक भए ।

    भुटानी शरणार्थी प्रकरण सेलाउन नपाउँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले एक सय किलो सुन तस्करी काण्डको अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा पूर्व आईजीपी धिरजप्रताप सिंहसमेत मुछिएको समाचार बाहिर आएपछि सिंहले केही अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी हालेर चोखो बन्ने प्रयास पनि गरे । तर, सिंह र एक सय किलो सुन तस्करीका नाइके बेल्जियम नागरिक दावा छिरिङबीचको म्यासेज नै बाहिरिएपछि सिंहले केही प्रहरी अधिकारीलाई निसाना बनाए ।

    त्यहिबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि सुन तस्करीमा जोडिएका र सिंहसहितका प्रहरीमाथि छानविन हुनुपर्ने भन्दै दबाब पनि पर्यो । सिंह निकटहरुले यो खबर एआईजी ज्ञवालीले फैलाएको भन्दै उनलाई रानीपोखरीबाट हटाउन धुम्बाराहीमाथि दबाब सृजना गर्ने काम गरेका थिए । त्यसैको असर अहिले ज्ञवालीमाथि परेको हो ।

    राज्य व्यवस्था समितिमा ज्ञवालीविरुद्ध परेको उजुरी भुटानी शरणार्थी प्रकरणमा प्रतिशोध साँध्ने हिसावले गरिएको जगजाहेरै छ । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा भुटानी शरणार्थी प्रकरणका नाइके बालकृष्ण खाँडका अत्यन्त नजिकका सांसद हुन् । भुटानी शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा खतिवडाको समेत नाम मुछिएको थियो । उनले दोब्बर पैसा दिएर पीडितहरुको मुख टालेको ओखलढुंगाकै एक कांग्रेस नेता बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार