Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अवधि नपुगी किन हटाइन्छ काठमाडौंका प्रहरी प्रमुख ?

    अवधि नपुगी किन हटाइन्छ काठमाडौंका प्रहरी प्रमुख ?

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 3.8K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीलाई ८ महिनामै सरुवा गरेकोमा आलोचना भइरहेको छ ।

    व्यवसायिक रुपमा काम गरिरहेका खत्री तथा अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरलाई अवधि नपुगी हटाइयो । काठमाडौं परिसरमा बसन्त रजौरे र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई पठाइएको छ ।



    सामान्यतया कुनै पनि कार्यालय प्रमुखमा खटाइएका प्रहरी अधिकृतलाई एक वर्ष राखिन्छ । अवधि नपुगी सरुवा गर्नुलाई हस्तक्षेप तथा कारबाहीको रुपमा बुझिन्छ ।



    तर, काठमाडौंको इतिहास हेर्ने हो भने थोरै मात्र प्रहरी अधिकृतले एक वर्ष अवधि काम गर्न पाएका छन् । यसअघि दानबहादुर कार्कीलाई पनि सात महिनामै हटाइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू अनुकूल अनुसन्धान नगरेको भन्दै कांग्रेस नेताहरूको दबाबमा उनलाई हटाएर खत्रीलाई पठाइएको थियो ।

    खत्री नेपाली कांग्रेस निकट मानिन्छन् । त्यही कारण उनलाई हाल गृहमन्त्री रवि लामिछानेले हटाएको प्रहरी स्रोत बताउँछ । ‘खत्रीबाट जोखिम महसुस गरेरै गृहमन्त्रीले हटाएको बुझिन्छ’ एक उच्च प्रहरी अधिकारीले भने ।

    कार्की भन्दा अगाडि भरतबहादुर बोहरा काठमाडौं प्रहरी प्रमुख थिए । उनलाई ६ महिनामा हटाइएको थियो । बोहरा चलखेलकै आधारमा काठमाडौं प्रहरी प्रमुख बनेका थिए , गृहमन्त्री फेरिए लगत्तै उनलाई हटाइयो ।

    त्यसअघिका एसएसपी सुदीप गिरीले पनि साढे ६ महिना मात्र नेतृत्व गरे । डिआइजीमा बढुवा भएपछि उनको सरुवा भएको थियो ।

    त्यसअघि अशोक सिंह काठमाडौंको प्रहरी प्रमुख थिए । उनले भने १३ महिना परिसरको नेतृत्व गरे । सिंह कतिसम्म शक्तिशाली थिए भने त्यस बेला गृह मन्त्रालयले सरुवा गर्दा पनि बालुवाटारबाट सरुवा एक महिना रोकाएका थिए ।

    त्यसअघिका श्यामलाल ज्ञवालीलाई सात महिनामा हटाइएको थियो । उनी आफ्ना दाइ ठाकुर ज्ञवाली महानिरीक्षक हुँदा काठमाडौंको प्रमुख भएका थिए । दाइ हटेसँगै उनलाई पनि हटाइएको थियो ।

    त्यसअघि विश्वराज पोखरेल, रबिन्द्र धानुक लगायतलाई पनि छोटो अवधिमै काठमाडौं परिसरबाट हटाइएको इतिहास छ । नवराज सिलवाललाई कीर्ते मुद्दामा फसाउने उद्देश्यले पोखरेललाई त्यस बेला धानुकलाई हटाएर परिसर पठाइएको थियो ।

    प्रहरीमा काठमाडौंको इन्चार्ज पदलाई सबैभन्दा आकर्षक मानिन्छ । राजधानी रहेको जिल्लाको इन्चार्जको जिम्मेवारी महत्वपूर्ण हुने र आर्थिक रुपमा पनि आकर्षक पद मानिन्छ ।

    जस कारण काठमाडौंको प्रहरी प्रमुख बनाउन कतिपय अवस्थामा प्रहरी महानिरीक्षक मात्र होइन गृह मन्त्रीले समेत नसक्ने अवस्था छ । गृहमन्त्री मात्र होइन प्रधानमन्त्रीको समेत विश्वास जितेका अधिकृतलाई काठमाडौं परिसरमा पठाइन्छ ।

    एक उच्च प्रहरी अधिकारी काठमाडौँमा गृहमन्त्रीले आफू अनुकूल एसएसपी चाहनु स्वभाविक भएको बताउँछन् ।

    ‘गृहमन्त्री र काठमाडौंको एसएसपीबीच विश्वासको सम्बन्ध भएन भने शान्ति सुरक्षामै असर पर्न सक्छ,’ ती अधिकारी भन्छन्,‘काठमाडौं प्रहरीले राम्रो काम नगर्दा गृहमन्त्रीले जवाफ दिनुपर्ने हुन्छ, राम्रो गर्दा गृह मन्त्रीको समेत सफलता जोडिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार