Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

धनगढीमा ब्लुबुक, लाइसेन्स र मापसे चेकिङको नाममा ट्राफिक प्रहरीको ज्यादती

धनगढीमा ब्लुबुक, लाइसेन्स र मापसे चेकिङको नाममा ट्राफिक प्रहरीको ज्यादती

शनिवार , भाद्र ८, २०८१

कैलाली । धनगढीमा ट्राफिक प्रहरीको काम सवारी आवतजावतलाई सहजीकरण गर्नु भन्दा पनि चेकिंङ र दण्ड दिने काम बढी भएको आरोप लागेको छ ।

पछिल्लो समय धनगढीमा ट्राफिक प्रहरीले नागरिकलाई चेकिंङको नाममा अनावश्यक दुःख दिन थालेपछि सो आरोप लागेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमाथि सोही आरोप लागिरहेका बेला शुक्रबार राति पत्रकारलाई हतकडी नै लगाएर थुनामा पठायो । सो घटनापछि ट्राफिक प्रहरीमाथि लागेको आरोप थप पुष्टि भएको छ ।

शुक्रबार राति करिब ९ बजेको समयमा धनगढीका पत्रकार रमेश अयडीमाथि ट्राफिक प्रहरीले ज्यादती गरेको थियो । ब्लुबुक, लाइसेन्स र मापसे गरेको जाँच गर्न बसेका ट्राफिक प्रहरी हवल्दार विजय बमले अयडीसहित अर्का एकजना युवकलाई दुर्व्यवहार गर्दै हतकडी लगाएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाएका थिए ।

तर केही समयपछि पत्रकारको टोली गएर अयडीलाई छुटाएको थियो । केही महिना अगाडि फूलबारी क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवल्दार बमलाई ट्राफिक नियमन राम्रोसँग गर्न पत्रकार अयडीले अनुरोध गरेका थिए ।

सोही विषयलाई इगोको रूपमा लिएका ट्राफिक प्रहरी बमले शुक्रवार साँझ कागजपत्र नभएको निहुँमा हतकडी लगाएर हिरासतमा पठाएको आरोप छ । यद्धपि अयडीसँग हवल्दार बमको कुनै रिसिइबी नभएको दाबी गरिएको छ ।

पीडित पत्रकार अयडीले ट्राफिक प्रहरी हवल्दार बमले आफूलाई लाइसेन्स र ब्लुबुक नबोकेको भन्दै हतकडी लगाएर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरीको हिरासतमा पठाएको बताए ।

यता ट्राफिक प्रहरी कार्यालय कैलालीले पनि ट्राफिक प्रहरीबाट गल्ती भएको स्वीकार गरेको छ । पछिल्लो समय धनगढीमा ट्राफिक प्रहरीले नागरिकलाई बिना कारण दुःख दिने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077