काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भएको दाबी गरेका छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् ।
उनले विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरित नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समिकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण भएको बताए ।
'प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षबाट हुनु स्वभाविक नै हो,' उनले भने, 'त्यसबाट माओवादीका मित्रहरु धेरै उद्वेलित हुनु पर्दैन ।'
अहिले माओवादीका मित्रहरु माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिएको उनले बताए ।
उनले भने, 'तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र कांग्रेसलाई संविधानको भाषा वोलेन भनेर विरोध गर्नेले माओवादीले चै संविधानले नस्विकारेको भाषा वोल्न मिल्छ र ?'
यस्तै 'स्मरण रहोस् जुन दिन माओवादी पक्षले जनयुद्ध शव्द प्रयोग गर्न छोड्दछ त्यो दिन देखि उनीहरुलाई नेकां र एमालेलाई हिंसात्मक द्वन्द्व भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुनेछ,' उनले भने ।
केही दिनदेखि संसदमा एमाले र माओवादीका सांसदहरुबीच जुहारी नै चलेको छ ।