धनगढी । कैलालीमा खस समुदायको हक अधिकारका लागि भन्दै खस मुक्ति मोर्चा घोषणा गरिएको छ । बिहीबार कैलालीको अत्तरियामा औपचारिक कार्यक्रमको आयोजना गर्दै खस मुक्ति मोर्चाको घोषणा गरिएको हो ।
घोषणा गरिएको खस मुक्ति मोर्चाले खस समुदायको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका लागि देशभरका खसहरुलाई एकताबद्ध गरेर जागरण अभियान चलाउने जनाएको छ ।
मोर्चाका संयोजक निर्मल धामीले खस र आर्य समुदायलाई एउटै वर्गमा राखेर खस समुदायका अधिकार कुण्ठित गरेकाले सामुदायिक लडाईका लागि मोर्चा गठन गरिएको जानकारी दिए ।
नेपालमा वषौँदेखि आर्य समुदायले शासन गरिरहेको बताउने धामीले अब आर्य समुदायलाई नेतृत्व दिनेगरि मोर्चाले अभियान चलाउने दाबी गरे ।
खस मुक्ति मोर्चा कैलालीका संयोजक उपेन्द्र ठकुराठीले मोर्चाले बिहीबार नै प्रदेश निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मोर्चाको उद्देश्य र माग सम्बन्धी जानकारीसहितको पत्र बुझाइएको जानकारी दिए ।
मोर्चाका केन्द्रीय संयोजक धामी, कैलाली संयोजक ठकुराठी, खस फ्रन्ट गार्डका केन्द्रीय संयोजक भरत बहादुर बोहोरासहितले प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेन्द्र चौधरी र कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई जानकारीमुलक पत्र बुझाएका थिए ।