काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले उद्योगहरुले बक्यौता तिरेपछि मात्रै लाइन जोड्नुपर्ने बताएका छन् ।
आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले सो कुरा बताएका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र सबै उद्योगमा लाइन जोड्ने निर्देशन प्राधिकरणलाई दिएको थियो । बक्यौता रकम नउठाइ लाइन जोड्दा प्राधिकरण धराशयी हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
६० दिनभन्दा बढी समय महसुल नतिर्ने आम उपभोक्ताको लाइन काटी महसुल असुल उपर गर्ने प्रावधान रहेका कारण उद्योगीले पनि उपभोग गरेको बिजुलीको महसुल तिर्नुपर्ने उनीहरूको भनाइ छ।
प्राधिकरणले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत तोकिएको समयावधिभित्र बक्यौता नबुझाउने ग्राहकहरूको लाइन काट्न प्राधिकरण बाध्य भएको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यसअघि प्राधिकरणले लाइन काटेपछि सरकारी स्वामित्वका दुई समेत गरी १४ उद्योगले किस्ताबन्दी सुविधाअनुसार पहिलो किस्ता बक्यौता बुझाएका थिए।
अदालत, संसदीय समिति, महोलेखा परीक्षक, विभिन्न समयमा गठित समिति तथा विद्युत नियमन आयोगबाटसमेत महसुल असुल उपर गर्न निर्देशन दिएपश्चात पटकपटक लिखित तथा मौखिक ताकेता गरिएको तर, तोकिएको समयमा बक्यौता रकम नबुझाउँदा लाइन काट्न बाध्य भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता रकम नबुझाइ लाइन जोडिएमा संघर्षमा उत्रिने चेतावनीसमेत उनीहरुले दिएका छन् ।