डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव जितेको दुई वर्षपछि गृहजिल्ला फर्किएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा सोमबार बेलुकी डडेल्धुरा आइपुगेका हुन् ।
चुनाव जितेको दुई वर्षपछि जिल्ला फर्किएका देउवालाई जिल्ला सदरमुकाममा बाजागाजासहित स्वागत गरिएको छ । देउवा जिल्ला आउने भएपछि सदरमुकाम क्षेत्र र उनले भ्रमण गर्ने ठाउँमा व्यापक सरसफाइ गरिएको छ ।
उनी २०७० पछि पहिलोपटक सडक मार्ग भएर डडेल्धुरा पुगेको बताइएको छ । २०७४ र ०७९ को निर्वाचनमा उनी हेलिकोप्टरमार्फत जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।
सोमबार बिहान जिल्लाको भित्रीमधेसमा पर्ने आलिताल र परशुरामधामको दर्शन गरेका देउवा बेलुकी जिल्ला सदरमुकाम आएका हुन् । उनी मंसिर १ गतेसम्म जिल्लामा बस्नेछन् । यहाँ रहँदा उनी धार्मिक र पार्टीका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।