Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नक्कली कागजपत्रका आधारमा सेञ्चुरी बैंकले दुई अर्ब ३० करोड कर्जा दिएको पुष्टि, अनुसन्धानमा अझै अलमल

नक्कली कागजपत्रका आधारमा सेञ्चुरी बैंकले दुई अर्ब ३० करोड कर्जा दिएको पुष्टि, अनुसन्धानमा अझै अलमल

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । हाल प्रभु बैंकमा मर्ज भएको तत्कालिन सेञ्चुरी बैंकले नक्कली कागजपत्रका आधारमा दुई अर्ब ३० करोड कर्जा प्रवाह गरेको पुष्टि भएको छ ।

हाल थुनामा रहेका देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईसँगको मिलेमतोमा बैंकले कर चुक्ताको नक्कली प्रमाणपत्रकै आधारमा यसरी ठूलो कर्जा दिएको हो । जुन कर्जा डुबेपछि हाल प्रभु बैंक समेत समस्यामा छ ।

बैंकले कर चुक्ता प्रमाणपत्रको आधिकारिकता समेत नबुझी ऋण दिएको सिआईबीकै अनुसन्धानले देखाएको छ । जसमा सिआइबीले चौलागाईसहित उनकी श्रीमती पूजा खत्री तथा राजेन्द्र खत्री र मनोज भण्डारीविरुद्ध ललितपुर जिल्ला अदालतमा लिखत कीर्ते मुद्दा दायर गरेको छ ।

चौलागाईले पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एण्ड मार्केटिङ प्रालि र थ्रि ब्रदर्स मार्केटिङ प्रालिका नाममा कर चुक्ताको नक्कली पत्र बनाई बैंकमा पेस गरी कर्जा लिएका थिए ।

चौलागाई र बैंकका तत्कालिन अध्यक्ष राजेश श्रेष्ठ घरजग्गा कारोबारका साझेदार हुन् । सोही कारण मिलेमतोमै यसरी कर्जा प्रवाह भएको स्रोत बताउँछ ।

तर, बैंकका सञ्चालक र कर्मचारीलाई भने जोगाउन गृहमन्त्री रमेश लेखक र केही प्रहरी अधिकारीहरु लागेको स्रोत बताउँछ । सोही कारण सिआइबीमा अनुसन्धान अलपत्र परेको छ ।

यसअघि सिआइबीले सञ्चालक र कर्मचारीलाई पक्राउ गरे पनि दबाबको भरमा हाजिरी जमानीमा छाडेको थियो ।

सिआइबीले कर्मचारीलाई मात्र मुद्दा चलाउने गरी सिफारिस गरेकोमा अनुसन्धान नपुगेको भन्दै विशेष सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन फिर्ता गरेको थियो । त्यसपछि सिआइबी अनुसन्धान सुस्त छ ।

सुरुमा अनुसन्धानका लागि प्रभु बैंकका सिइओ अशोक शेरचनले नै प्रहरीमा दबाब दिएका थिए । पछि उनी नै सो केस मिलाउन लागेको सिआइबी स्रोत बताउँछ ।

सो मुद्दाको अनुसन्धानमा केही प्रहरी अधिकारीले अनुचित लाभ लिएको आरोपमा प्रहरी प्रधान कार्यालयले समेत छानबिन गरेको थियो ।

लिखत कीर्ते मुद्दाको अभियोगपत्रमै धितोको अधिक मूल्याङ्कन गरेर कर्जा दिइएको उल्लेख छ । जसले कर्जा प्रवाहमा बैंकका सञ्चालक तथा कर्मचारीको मिलेमतो प्रस्ट हुन्छ ।

एक अर्ब ४० करोड कर्जा त सञ्चालक समितिबाटै निर्णय गरेर दिइएको थियो । तर, जसरी पनि सञ्चालकलाई जोगाउने चलखेलले अनुसन्धान अलपत्र परेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077